विद्यालय खोल्न छलफल

देउखुरी । असार २७ गतेदेखि विद्यालय खुल्न नसकेपछि अभिभावक, शिक्षक, विद्यार्थी र सरोकारवाला निकायबीच सार्वजनिक छलफल गर्न थालिएको छ । थरुहट स्वायत्त प्रदेशको माग राख्दै गरिएको अनिश्चितकालीन आम हडतालको बढी प्रभाव देउखुरीका शैक्षिक संस्थामा परेको छ ।

नागरिक समाज देउखुरी, निजी विद्यालयको साझा संगठन प्याब्सन दाङ, देउखुरी उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्चलगायतको पहलमा देउखुरीमा विद्यालय खोल्ने विषयमा छलफल भएको हो । आन्दोलनको समयमा घोराही र तुलसीपुर क्षेत्रमा विद्यालय खोलिए पनि देउखुरी क्षेत्रमा एक दिन पनि विद्यालय खोल्न नसकिएपछि सर्वपक्षीय चासो बढेको हो ।

अधिकार प्राप्तिका लागि भइरहेको आन्दोलनमा विद्यार्थीको पढ्न पाउने अधिकार बन्द, हडतालले खोसेको भन्दै निर्वाध रूपमा शैक्षिक संस्था खोलीनुपर्ने र पठनपाठन गर्नका लागि सहज वातावरण बनाउन आग्रह गरिएको छ । देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकर घिमिरेको अध्यक्षता एवं नागरिक समाज देउखुरीका संयोजक निमबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले नागरिक समाजका संयोजक निमबहादुर थापकै संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको छ ।

त्यसको सदस्यहरूमा संस्थागत प्रतिनिधित्व रहेको छ । देउखुरी उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, प्याब्सन दाङ, सामुदायीक विद्यालयका प्रतिनिधि, उपभोक्ता मञ्च, यातायात व्यवसायी सदस्यको रूपमा छन् । ‘बन्द लामो समयसम्म भयो, विद्यालय नखुल्दा विद्यार्थी झनै समस्यामा परे’ वार्ता समितिका संयोजक थापाले भने, ‘मंगलबार आन्दोलनरत पक्षहरूसँग बसेर निचोड निकाल्छौँ ।’

छलफलमा प्याब्सनका केन्द्रीय सदस्य जीवनकुमार आचार्य, जिल्ला अध्यक्ष यादव गिरी, पूर्वअध्यक्ष शरदकुमार शर्मा, केशव थापा, नेकपा एमालेका क्षेत्रीय इन्चार्ज कुलबहादुर केसी, क्षेत्रीय अध्यक्ष रतन कुमार केसी, नेपाली कांग्रेसकी क्षेत्रीय सचिव गिरिजा न्यौपाने, नेकपा माओवादीका ओमप्रकास सुवेदी(सागर), बुद्धिजीवी जागेश्वर शर्मा घिमिरेलगायतले विद्यालय सञ्चालनको सहज वातावरण बनाउन सरकार र आन्दोलनरत पक्षसँग आग्रह गरेका छन् । बन्दका कारण एक सय ३७ सरकारी र ५५ निजि विद्यालयमा अध्ययनरत २४ हजार विद्यार्थी स्कुल जान पाइरहेका छैनन् । (सौस)

प्रतिक्रिया