काठमाडौं । सोमबार भएको सञ्चालिका समूहको महाधिवेशनले निर्मला शर्मालाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्ष चयन गरेको छ । उपाध्यक्षमा नितु पण्डित, महासचिवमा कमला पन्थी र कोषाध्यक्षमा यशोधा तिम्सिना चयन भएका छन् । त्यस्तै सचिवमा विमला तुम्वाहाम्पेसहित ८ जना कार्यसमिति सदस्य चयन गरेको छ ।
सो कर्याक्रममा बोल्दै सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले महिला सशक्तीकरणको सवाललाई राजनीतिक तहमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । सञ्चारिका समूहको १९औँ वार्षिकोत्सव तथा छैठौँ महाधिवेशनमा मन्त्री रिजालले गाउँदेखि केन्द्रसम्म महिलालाई राजनीतिमा स्थापित गर्न सकेमा मात्र मुलुकको विकास हुने बताए ।
कार्यक्रममा मन्त्री रिजालले सञ्चारिका समानता पुरस्कार ‘बलत्कारी उम्काउने कानुनी छिद्र’ आलेखका लागि हिमाल साप्ताहिकका मीना शर्मा र तूफान न्यौपानेलाई संयुक्त रुपमा प्रदान गरेका थिए । यस्तै ‘उमा सिंह पत्रकारिता पुरस्कार’ सुनसरीका पत्रकार लक्ष्मी दर्नाल तथा ‘सञ्चारिका प्रोत्साहन पुरस्कार’ रेडियो नेपालका शोभा भट्टराई र तराई टेलिभिजनका प्रियंका पाण्डेलाई प्रदान गरिएको थियो । संस्थाका पूर्वअध्यक्षहरु बन्दना राणा, बबिता बस्नेत र प्रेमकुमारी पन्त तथा राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिना, सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य मञ्चला झालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । (सौस)
प्रतिक्रिया