काठमाडौं । प्रथम मनमैजु दौड प्रतियोगिताको छात्र ११–१४ वर्षमा रिपुमर्दिनी सैनिक स्कुलका कुशल थापा, छात्र १४–१६ वर्षमा विन्धवासिनी माविका निकेश महर्जन तथा छात्रा ११–१६ वर्षमा विजेश्वरी ज्ञान मन्दिरकी सुनिता श्रेष्ठ सोमबार पहिलो भएका छन् ।
कुशलले निर्धारित दूरी १६ मिनेट २० सेकेन्डमा पूरा गरे । बालाजु तेक्वान्दो डोजाङका इशान भण्डारी दोस्रो र न्यु क्रिएटिभ स्कुलका बाबुछिरी शेर्पा तेस्रो भए । बाल दिवसको उपलक्ष्यमा नव शान्ति क्लब, मनमैजु तेक्वान्दो डोजाङ र नव शान्ति कराते डोजोद्वारा संयुक्त आयोजित प्रतियोगितामा निकेशले निर्धारित दूरी तय गर्न १४ मिनेट ५७ सेकेन्ड समय लगाए । एपिएफ स्कुलका आश्वासन मिश्र दोस्रो र एपिएफकै उज्ज्वल खरेल तेस्रो बने ।
सुनिताले दौड १६ मिनेट ४८ सेकेन्डमा सिध्याइन् । विजेश्वरीकी सुजाता दर्लामी दोस्रो र बालाजु तेक्वान्दो डोजाङकी उर्मिला तामाङ तेस्रो भए । तीनवटै स्पर्धामा ४ किलोमिटर दूरीमा प्रतिस्पर्धा भएको थियो । सबै विधामा पहिलो हुनेले २ हजार ५ सय, दोस्रोले २ हजार र तेस्रोले १ हजार ५ सय नगद पुरस्कार हात पारे ।
विभिन्न २५ स्कुल र संस्थाका १ सय ५० प्रतिस्पर्धी सहभागी थिए । विजेतालाई सभासदद्वय भीमसेनदास प्रधान र बहादुरसिंह लामालगायतले पुरस्कार वितरण गरे । (सौस)
प्रतिक्रिया