लर्डस । एसेस क्रिकेट शृंखलाअन्तर्गत घरेलु टोली इंग्ल्यान्डविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा पनि अस्ट्रेलिया विजयी भएको छ । जितसँगै अस्ट्रेलियाले पाँच एकदिसीय एसेसमा २–० को अग्रता लिएको छ । यसअघि साउथ ह्याम्पटनमा भएको पहिलो खेलमा अस्ट्रेलियाले ५९ रनको जित निकालेको थियो ।
अस्ट्रेलियाले दिएको ३१० रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्ड ४२.३ ओभरमा २४५ रन जोड्दै अलआउट भयो । इंग्ल्यान्डका लागि कप्तान इयान मोर्गनले सर्वाधिक ८५ रन जोडे पनि त्यो जितको लागि पर्याप्त भएन । मोर्गानले ८७ बल खेल्दै चार चौका र चार छक्काको मद्दतमा ८५ रन जोड्दा पात कुमुनिसको बलमा म्यक्सवेलबाट क्याच आउट भएका थिए । जेम्स टेलरले ४३ र जेसज रोएले ३१ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । अन्त्यतिरका ब्याट्सम्यान लियम प्लनकेटले २४ रन जोडे ।
एलेक्स हेल्स १८ रनमा आउट भए । इंग्ल्यान्डको पारीको मध्यतिर बेन स्टोक निकै अनौठो ढंगले आउट हुन पुगे । २६ औँ ओभरको चौथो बलमा स्टार्कले स्टम्पमा हिट गरेको बल उनले हातले रोक्न पुगे । फिल्डमा अवरोध गरेको भन्दै अम्पायरले विकेट दिएपछि स्टोक १० रनमै आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेन । अस्ट्रेलियाका पात कुमुनिसले चार तथा ग्लेन म्याक्सवेलले दुई विकेट लिए । मिचेल मार्स, मिचेल स्टार्क र नाथन काउटलर नेलले समान एक–एक विकेट लिए ।
यसअघि लर्डस क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.७ विकेट गुमाउँदै ३ सय ९ रन बनायो । वर्षाका कारण खेल निर्धारित समयभन्दा केही ढिला सुरु भएपछि ५० ओभरको खेललाई ४९ ओभरमा छोट्याइएको थियो । अस्ट्रेलियाका लागि कप्तान स्टेभन स्मिथले ७० तथा मिचेल मार्सले ६४ रनको योगदान गरे । जर्ज वेली ५४ रनमा आउट भए । ग्लेन म्याक्सवेलले ४९ रनमा स्टेभन फिनको बलमा आइविडब्लुको शिकार भए । सेन वाट्सन ३९ रनमा पभेलियन फर्किए । ओपनर जोए बर्न २२ रनमा फिनकै बलमा बोल्ड भए । इंग्ल्यान्डका बेन स्टोकले तीन विकेट तथा स्टिभन फिनले दुई विकेट हात पारे । अदिल रसिद र मोइन अलीले एक–एक विकेट लिए । तेस्रो एकदिवसीय खेल मंगलबार म्यानचेस्टरमा हुनेछ । (एजेन्सी)
प्रतिक्रिया