चलचित्र कलाकर संघको चुनाव स्थगित

काठमाडौं । २३ भदौमा हुने भनिएको नेपाल चलचित्र कलाकार संघको अधिवेशन र चुनाव स्थगित भएको छ । संघको सदस्यता वितरण गर्दा गैरकलाकारलाई वितरण गरेको उजुरी जिल्ला प्रशासन कार्यालयमा परेपछि चुनाव स्थगित भएको हो ।

यसपटकको चुनावमा संघको महासचिवका प्रत्यासी सञ्जय खतिवडाले वर्तमान कार्यसमितिले गैरकलाकारलाई नयाँ सदस्यता वितरण गरेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेका थिए । मुद्दाको सुनवाइ गर्दै जिल्ला प्रशासनले तत्कालका लागि अधिवेशन रोक्ने आदेश दिएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले नेपाल चलचित्र कलाकार संघलाई तत्कालका लागि चुनावी प्रक्रिया रोक्न भन्दै पत्र पठाएको छ ।

प्रशासननले गैरकलाकारलाई सदस्यता वितरण गरेको आरोपमाथि छानबिन गर्न कलाकार वसुन्धरा भुषालको संयोजकत्वमा कृष्ण मल्ल र मोहन निरौला सदस्य रहेको छानविन समिति गठन गरेको जानकारी दिएको छ । छानविन समितिको प्रतिवेदन नआएसम्म चुनाव र साधारणसभाको मिति यकिन नगर्नसमेत अनुरोध गरिएको छ ।

कलाकार संघको अध्यक्षमा अभिनेता विशाल विष्ट, रामकेशर बोगटी र लय संग्रौलाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया