डीआईजीहरू हेडक्वाटर तानिए : माधव नेपाल र सुरज श्रेष्ठ खटाइए

काठमाडौं,८ भदौ । कैलालीको टिकापुर भएको हिंसात्मक घटनापछि सरकारले सुदूरपश्चिमका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका डीआईजी दुवैलाई हेडक्वाटरमा तानेको छ ।
सोमबार टीकापुरमा भएको हिंसात्मक आन्दोलनमा नेपाल प्रहरीका एसएसपीसहित सात सुरक्षाकर्मी मारिएपछि गृह मन्त्रालयले सुदूरपश्चिमका सशस्त्र प्रहरीका प्रमुख डिआइजी खडानन्द चौधरी र नेपाल प्रहरीका डीआईजी रामकुमार खनालललाई हेडक्वाटर तानेको हो । उनीहरुको ठाउँमा तत्काल सशस्त्रका डिआइजी सुरज श्रेष्ठ र नेपाल प्रहरीका डीआईजी माधव नेपाललाई खटाएको गृह मन्त्रालयले जनाएको छ ।
त्यसैगरी आन्दोलनका क्रममा मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको स्थानमा एसएसपी दिनेश अमात्यलाई पठाइएको छ ।

कैलालीका सिडियो फिर्ता बोलाइए
यसैगरी कार्यक्षमतामा प्रश्न उठाउँदै सरकारले कैलालीका सिडिओ राजकुमार श्रेष्ठलाइ गृहमन्त्रालयमा तानेको छ ।

कार्यशैली सन्तोषजनक नभएको र टीकापुर घटनामा मृत्यु भएकाहरुको विवरण पनि गलत संप्रेषण गरेको उनीमाथि आरोप लगाइएको छ ।
श्रेष्ठको स्थानमा क्षेत्रीय प्रशासन कार्यालयका मोहन चापागाईंलाई पठाएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया