धनगढी, ७ भदौ । कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित चार प्रहरीको मृत्यु भएको छ । ५० भन्दा बढी प्रहरी घाइते भएका छन् ।
छुरा, भाला, बन्चरोसहितका हतियार बोकेर आएका ८–१० हजारको संख्यामा रहेका आन्दोलनकारीले सरकारी कार्यालय कब्जा गर्न खोजेपछि कैलालीको मुनुवा गाविस ६ सिलम चौराहमा हिंसात्मक झडप भएको हो ।
आन्दोलनकारीले टीकापुर ६ संकरपुरस्थित पशुहाट नजिकै एसएसपी लक्ष्मण न्यौपानेलाई पेट्रोल छर्किएर आगो लगाएका छन् । घटनामा उनको मृत्यु भएको र उनको शव टीकापुर अस्पतालमा ल्याएको बताइएको छ ।
घटनामा एसएसपी न्यौपानेका अंकरक्षकको पनि मृत्यु भएको छ । उनको नाम खुलेको छैन । यस्तै आन्दोलनकारीको आक्रमणमा परी इन्स्पेक्टर बलराम विष्ट र केशव बोहोराको मृत्यु भएको छ ।
प्रत्यक्षदर्सीका अनुसार तीनजना आन्दोलनकारीको पनि मृत्यु भएको छ । अहिलेसम्म घाइतेको संख्या यकिन हुन सकेको छैन । दिउँसो २ बजेदेखि कर्फ्यू लगाइए पनि अहिलेसम्म टीकापुर बजारमा दोहोरो झडप भइरहेको छ ।
यसैबीच, टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी एसएसपीसहितका सुरक्षाकर्मीको मृत्यु भएपछि सुरक्षा प्रमुखको बैठक बोलाइएको छ । गृहमन्त्री बामदेव गौतमको उपस्थितिमा सुरक्षा अंगका प्रमुखहरुको बैठक बोलाइएको हो ।
प्रतिक्रिया