बन्दको मारमा किसान

poltryदेउखुरी, ५ भदौ । ‘२ हजार कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । तर, लगातार भइरहेको बन्दले बिक्री गर्न तयार भएका कुखुरा खोरमै बूढो हुन थाले । दैनिक २५ देखि ३० हजार रुपैयाँ कुखुरालाई दाना, पानी र स्याहार सुसारमा खर्च हुन्छ ।’ लमही नगरपालिका–११ का कृष्ण घिमिरेले बन्दका कारण आपूmले भोगेको समस्या यसरी सुनाउँछन् ।

लगातार भइरहेको बन्द, हड्तालले तयारी अवस्थाका कुखुरा बिक्री नहुँदा ८ देखि १० लाख रुपैयाँ डुब्ने अवस्थामा पुगेको घिमिरेले बताए । ‘मेरो मात्रै ८ देखि १० लाख रुपैयाँ कुखुरा उत्पादनमा लागेको छ, यो सब ऋणधन गरेर जोडेको लगानी हो’ उनले भने, ‘बन्दले कंगाल बनाउने भयो ।’

बन्दले उत्पादित कुखुरा बजारमा खपत हुन सकेको छैन । यहाँ उत्पादित कुखुरा धेरै जिल्ला बाहिर बुटवल, काठमाडौं, सुर्खेत, नेपालगञ्ज, रोल्पा, रुकुम, प्युठान जाने गरेको छ । तर, बन्द हुँदा ती जिल्ला तथा सहरमा कुखुरा गएका छैन । मासुका लागि जिल्ला बाहिर निकासी हँुदै आएकोमा अहिले भइरहेको बन्दले सवारी साधन नचल्दा कुखुरा निकासी भएको छैन ।

बन्द भएपछि कुखुराको बिक्री वितरण ८० प्रतिशतले घटेको छ । ‘बजार बन्द छ, गाडी नचल्दा अन्यत्र पनि जाँदैन, यसो फुटकरमा खोरमै खोज्दै आएमा बिक्री हुन्छ’ लमहीका ऋषि सुवेदीले भने, ‘मेरो १ हजार कुखुरा खोरमा छन्, बन्द हुँदा बिक्री वितरण प्रायः ठप्प छ ।’

लमही रातो डाँडामा पे्रेस हाउस सञ्चालन गर्दै आएका यादव अधिकारीले बन्द नहुँदा दैनिक २५÷३० वटा ब्रोइलर कुखुरा काट्दै आएका थिए । तर, अहिले बन्द हुँदा मुस्किलले दिनमा ४÷५ वटा कुखुराको मासु बिक्री गर्छन् । ‘होटलमा बढी मासु खपत हुन्थ्यो बन्दले होटल पनि बन्द छ, मानिससँग बन्द सँगै पैसा पनि कम हुँदै जाँदा मासु खान छाडेका छन्’ अधिकारीले भने ‘बन्दले रोजी रोटी जुटाउन पनि मुस्किल भयो ।’

देउखुरी कुखुरा पालक कृषक समूहका सचिव प्रदीप शर्माका अनुसार समूहमा ५ सय बढी कुखुरापालक किसान दर्ता भएका छन् । बन्दले बिक्री वितरण गर्न तयारी अवस्थामा भएका कुखुरा उत्पादक किसान बढी मर्कामा परेका छन् । ‘यही समय उत्पादन बढी भएको थियो, सँगै बन्द पनि भएकाले किसानहरू मारमा परेका छन्, लगानी उठाउन पनि मुस्किल पर्ने देखिएको छ’ शर्माले भने, ‘बन्द हड्तालले किसानलाई मर्का पारेको छ ।’ लगातार बन्द हँुदा जनजीवन प्रभावित भएको छ । बन्दको असर मानिसको दैनिक जीवनयापनमा देखिन थालेको छ । बन्दको मारमा किसान परेका हुन् । किसानहरूको एउटै आवाज छ बन्द खोलेर उत्पादित तरकारी, कुखुरा सहज रूपमा बजारमा बिक्री वितरण गर्न पाइयोस् ।

प्रतिक्रिया