ईयूले म्यानमारको निर्वाचन पर्यवेक्षण गर्ने

याङगुन । युरोपेली महासंघ (ईयू) ले म्यानमारमा नोभेम्बर ८ मा हुने मतदान पर्यपेक्षण गर्नका लागि एक टोली याङगुन पठाउने भएको छ । ईयूले शुक्रबार जारी एक विज्ञप्तिमार्फत म्यानमारको सरकारी अधिकारीसँग समझदारी गरिसकेको जनाइएको छ ।

म्यानमारका लागि युरोपेली महासंघका राजदूत रोल्यान्ड कोबिया र एकता निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त ड माइन्ट कीले सम्झौता पत्रमा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

छोटो तथा लामो कार्यकालका लागि युरोपेली महासंघ सम्बद्ध राष्ट्रहरूका राजदूतावासका कूटनीतिज्ञको सयभन्दा बढी पर्यवेक्षकको समूह म्यानमार पठाइन युरोपेली महासंघ निर्वाचन अवलोकन टोली (ईओइम) मा समावेस हुनेछ । समूहका सदस्य चुनावको केही साता अघि नै म्यानमार आइपुग्ने समेत जनाइएको छ ।

म्यानमारको एकता निर्वाचन आयोगका अनुसार, अहिलेसम्म नोभेम्बरमा हुने चुनावमा ३२३ स्वतन्त्रसहित ६ हजार १८९ प्रत्यासीले भाग लिनका लागि आफ्नो उम्मेदवारी दिएका छन् । राजनीतिक दल सम्बद्ध ५ हजार ८६६ उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गरिसकेका छन् । (एजेन्सी)

प्रतिक्रिया