लागुऔषध प्रयोगकर्ताको वास्तविक कथामा चलचित्र

lagu_aausadhमोरङ, १ भदौ । नयाँनयाँ कुराको अनुभव गर्न चाहने २०–२१ वर्षको उमेर । त्यही उमेरका ५ जना युवाको सत्य कथामा आधारित छोटो चलचित्र लगाव ।

लागुऔषध प्रयोगबारे गलत बुझाइमा रुमल्लिरहेका युवाहरू लागुऔषध दुव्र्यशनिकर्ता विवेक नाम गरेको युवाको संगत गरी विस्तारै दैनिक त्यसको प्रयोग गर्न थाल्छन् । लागुऔषध प्रयोग गर्न पैसा नहुँदा विरामी आमाको औषधीसमेत बेचेर नशा प्रयोग गरेको अवस्थालाई चलचित्रमा कलात्मक ढंगले देखाइएको छ । जब विवेक लागुऔषध दुव्र्यशनिबाट मुक्त हुन्छ तब कथाले नयाँ मोड लिन्छ । विवेककै सहयोगमा सुशील र उसका साथीहरू लत त्याग्न सफल हुन्छन् । र अन्त्यमा सम्मानजनक नयाँ जिवनको थालनी गर्छन् ।

विराटनगरका युवाहरूले तयार पारेको ‘लगाव’ सत्य कथामा आधारित चलचित्र हो । चलचित्रको पहिलो प्रदर्शनी युवा दिवसकोे अवसर पारेर १२ अगस्टको दिन विराटनगरमा गरिएको हो । हिमाल खड्काद्वारा निर्देशित विराटनगरका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा स्थानीय कलाकारहरू अशोक गौतम, बिकास पराजुली, भरत कार्की, साजन रिजाल र ईसा प्रसाईको मुख्य भूमिका रहेको छ । चलचित्रको छायांकन जिवन नेपाली, कथा र उत्पादनको काम अमन श्रेष्ठ, सम्पादन नबिन भट्ट र कला निर्देशन सोनम मास्केले गरेका हुन् ।

लागुपदार्थ दुव्र्यशनीमा फस्दै गरेका युवाको वास्तविक अवस्था देखाउन चलचित्र निर्माण गरिएको निर्देशक खड्काले बताए । त्योसँगै पूर्वमा चलचित्र निर्माणको गतिलाई तिब्रता दिने उद्देश्य रहेको चलचित्रका उत्पादन व्यवस्थापक श्रेष्ठको भनाई छ । यसै क्रममा मोरङको बेलबारीमा पनि यो चलचित्र चाँडै प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया