‘घर पूरा हुँदा संसार जितेजस्तो भयो’

dhurmusपवित्र मन भए अरूको दुःखमा मल्हम लगाउन अर्बौंको भौतिक सम्पत्ति चाहिँदैन । मन र भावनाले नै धेरै कुरा गर्न सकिन्छ भन्ने प्रमाणित हाँस्य कलाकार धुर्मसु र सुन्तलीको जोडीले गरेर देखाएका छन् । अरूको दुःखलाई आफ्नो दुःख सम्झने यी जोडीले काभ्रेको पाँचखाल नगरपालिका १६ डाँडागाउँमा ‘धुर्मुस सुन्तली नमुना वस्ती’ बनाए । सधैँ दर्शकलाई हँसाएर नाम कामाएका यी जोडीले यतिबेला नामसँगै पुण्य पनि कमाएका छन् । भूकम्पले घर गुमाएका पहरी समुदायलाई बीसवटा घर बाइदिए । गाउँ बनाउँछु भनेर मिडियामा धेरै छाएका थिए । तर, त्यो यथार्थ हुन सकेन । धुर्मुस सुन्तलीले व्यवहारमा पूरा गरे घर बनाउने अभियान । यसै सन्दर्भमा सौर्य दैनिकसँगको कुराकानीमा सिताराम कट्टेल (धुर्मुस) :

हामीले एकीकृत बस्तीको अवधारणा बाहिर ल्याउनेबित्तिकै सकारात्मकभन्दा नकारात्मक टिप्पणी धेरै आए । ‘लौ धुर्मसु सुन्तली बौलाए’ भन्नेहरू धेरै थिए । समाजमा राम्रो काम गर्छुभन्दा बौलायो भन्नेहरूलाई हामीले काम गरेर देखायौँ । पवित्र भावना भयो भने धन चाहिँदो रहेनछ । हामीले आफ्नै सम्पत्तिले भन्दा पनि सहयोगी हातहरूका कारण योजना सफल पारेका हौँ । अमेरिकाबाट फर्कनेबित्तिकै जब हामीले योजना घोषणा ग¥यौँ तब समर्थन कतैबाट पनि पाइएन । मान्छेमा विश्वास थिएन, भन्थे ‘यो सबै चर्चाको लागि हो ।’ हामीलाई चाहिने जति चर्चा ‘मेरीबास्सैले’ दिएको छ । सस्तो चर्चाका लागि योजना बनाएका थिएनौँ । मन र भावनाले केही गर्नुपर्छ भनेर लागेका थियौँ ।

नेपालमा भूकम्प जाँदा हामी अमेरिकामा थियौँ । मेचिकाली सफाइ अभियान’ लिएर अमेरिका गएका थियौँ । भूकम्पले नेपालमा भएको क्षति सुन्दा मन विछिप्त भयो । कतिबेला नेपाल पुगौँ भन्ने हतारो भयो, हामीलाई । केही कार्यक्रम सम्पन भएका थिए । सोह्रवटा कार्यक्रम स्थगित गरेर फर्कियाँै । जस्तो गएका थियौँ त्यस्तै फर्कियौँ । सम्पन्न भएका कार्यक्रमबाट जम्मा भएको १६ लाख ५० हजार लिएर १९ गते नेपाल आइपुगियो । यहाँ आएर त्यही पैसाले दशवटा जिल्लामा राहत वितरण गर्न ग¥यौँ । विभिन्न जिल्लामा चौधवटा विद्यालय र ८० वटा शौचालय निर्माण ग¥यौँ । नुवाकोट ओखरपौवाको श्री भद्रकाली निमाविको सात कोठे पक्कीघर बनायौँ । दुई सय ५० जना विद्यार्थीलाई झोलालगायतका शैक्षिक सामग्री बाड्यौँ । सुरुमै गाउँ बनाउने कुरा सजिलो थिएन । फेरि जनतालाई सुरुमा खाना र पाल जस्ता सामानको आवश्यकता थियो ।

सुटिङको क्रममा गाउँ बस्ती जाँदा लाग्थ्यो, हाम्रो जस्तो भौगोलिक विकटता भएको देशमा एकीकृत बस्तीको आवश्यकता छ । विनाशले विकासको अवसर दिन्छ भन्थे, हो जस्तै लागेको छ । चाह्यो भने छरिएर रहेको बस्तीलाई एकीकृत बनाउन सकिँदोरहेछ भनेर सिद्ध गरेँ । गाउँ बनाउने सोच आएपछि एकै दिन तीनवटा जिल्ला घुमियो । हामीले चाहेको जस्तो ठाउँ कतै फेला परेन । अन्त्यमा जेठ १० गते साँझ यो ठाउँ पुगियो । गाउँमा पुग्दा फाट्टफुट्ट भत्किएका घर थिए । मान्छे आत्तिएको अवस्थामा बोल्न सक्दैन थिए । त्रासमा थियो, कति बेला फेरि भूकम्पले लाने हो, भन्ने । अनेक गरेर गाउँलेलाई मनायौँ । सुरुमा पत्याउन गाह्रो भयो । रातभरि बसेर मनाएर काठमाडौं फर्किएँ । १२ गते आवश्यक दाल, चामल, ग्याँस लिएर कोटेश्वर पुगेको थिएँ । फोन आयो, ‘त्यो जग्गा दिन मिल्दैन’ भनेर । जेसुकै होस् भनेर गयौँ । उनीहरूलाई रातभरि सम्झाएँ, हुन्छ भने । बिहान चारबजे फेरि हँुदैन भन्दै आए । लगानी खोज्नभन्दा, गाउँलेलाई मनाउन गाह्रो भयो । स्थानीय श्याम पहरी, राम पहरी, अर्जुन ठकुरी, पञ्चकृष्णलगायतको सहयोगमा जग्गा पाएँ । जग्गा त पाएँ, कान्ला नै कान्ला थियो, चारैतिर । कसरी सम्म बनाउने भन्ने समस्या थियो । भत्केका घरको कुनै काठ काम लाग्ने थिएन । सबै धमिराले खाएको थियो । जुन समात्यो त्यही कुहिएको हातमा टुक्रामात्र आउँथ्यो । टाढाबाट काठ ल्याउनुपर्ने, बाटो थिएन । आज खन्यो भोलि बिहान उठ्दा बाटो पानीले बगाउँथ्यो । हुदाँ–हुदाँ धुर्मुसले काठ काट्यो भनेर वनमा उजुरी गर्न पछि परेनन् केही मान्छे ।

घर बनाउने कुरामा शंकै शंका गर्थे । कस्तो बनाउने हो भनेर प्रश्नको ओइरो हुन्थो । हामीले ल्यापटपममा घरको नक्सा देखायौँ । नक्सा देखेर सबै खुसी भए । बाहिरका मान्छेले हामीले खनेको खाल्डो देख्दा भन्थे, ‘कुखुराको खोर बनाउन लागेको कि स्कुल ?’ जसले जे भन्थे, म हो भनेर जवाफ दिन्थेँ । मलाई कुरा गर्ने फुर्सद थिएन । काम गरेर देखाउनु थियो ।

जेठ १७ बाट काम सुरु गरेका थियौँ । दुई महिना दस दिनमा काम सम्पन्न भयो । सुरुवात र सम्पन्न हामीले गरे पनि हाम्रो काममा नेपाली सेना, स्थानीय जनता, भद्रगोल टिम, सगुन डटकम लगायतको ठूलो सहयोग थियो । धेरैले आर्थिक, नैतिक र भौतिक सहयोग गरेका छन् । हामी जनतालाई बास दिन गएका थियौँ । हाम्रो कामलाई सहयोग गर्नु भनेको जनतालाई घर दिने अभियानको सहयोगी बन्नु थियो । तर, स्थानीय नेता र रक्सीले मातेका गुन्डा बेला–बेला अवरोध गर्न जान्थे । धेरै समस्याको सामना गर्नुप¥यो । अभियान असफल पार्न धेरै ठाउँबाट प्रयास भयो । सुरुका दिनमा डर लागेको थियो, कतै योजना सफल हुँदैन कि भन्ने । तर, घर बन्ने प्रक्रिया अगाडि बददै जाँदा आत्मबल बढेर आयो । अब जे परे पनि यी गाउँलेले साथ दिनेछन्, भनेर । मलाई राजनीति गर्नु थिएन । तर, समाजमा कस्ता–कस्ता चरित्र भएका मान्छे रहेछन् भन्ने राम्रोसँग देखेँ । यो अभियानमा ।

घर बन्दै गर्दा पैसा नपुग्ने भयो । कुन्जनासँग सल्लाह गरेर घर बेच्ने निर्णय गरेँ । उनले पनि साथ दिइन् । तर, यो निर्णयले सन्सनी मच्चायो । ‘कलाकार भएर कला देखाउन छोडेर के गर्न खोजेको ?’ धेरैले भने । कतिले छोरीको बिजोग बनाउन खोज्यो धुर्मसु सुन्तलीले’ पनि भने । जसले जे भने पनि हामी आफ्नो निर्णय र कममा दृढ थियौँ पछाडि हट्ने अवस्था थिएन । तर, घर किन्न कोही आएन । सहयोगीहातहरू बढे । नमुना बस्ती सुरु गर्दा हामीसँग जम्मा आठ लाख ५० हजार रुपैया थियो । सम्पन्न गर्दा सम्म ६७ लाख रुपैयाँभन्दा बढी खर्च भयो । केही आफ्नो, धेरै सहयोगीको । घरलाई राष्ट्रियताको सन्देश दिन रातो, सेतो र निलो रङ प्रयोग गरिएको छ । घरभित्रै शौचालय भएको तीनकोठाको बीसवटा घर बनाइदिएको छौँ ।

खेलमैदान, पाहुनाघर, पार्किङ, बगैँचा, सबै घरमा बायोग्याँस छ । भूकम्प जानेबित्तिकै सिँगै गाउँ बनाइदिन्छु भन्नेहरू धेरै थिए । अमेरिकाबाट फर्कंदै गर्दा एक नेपालीले भने, ‘मसँग धेरै योजना छ, के–के गर्नुपर्छ मैले बुझेको छु ।’ उनको कुरा सुन्दा खुसी लाग्यो, दुःखेको नेपाली मनमा नेपाली रगतले केही गर्ने जोस लिएर जन्मभूमि आएछन् भनेर । नेपाल आएको भोलिपल्ट उनीसँग सम्पर्क भयो । पर्सिपल्टदेखि फोन अफ । यस्ता धेरै देखेँ । यस्तो काम गर्न धनभन्दा मन चाहिन्छ ।

झापामा हलो जोतेको ठेला मेटिएको थियो । काठमाडौं आएको सुरुका दिनमा डोकोमा भाँडाबोकेको थाप्लो पुरिइसकेको थियो । धेरै पछि एउटा श्रमिकले गर्ने सबै काम गरेँ । अब म सबै काम गर्न सक्ने भएको छु । गाह्रो लगाउने, आरा चलाउने, सिमेन्ट बालुवा मोल्ने, जस्तापाता ठोक्नेलगायत सबै काम गर्न सक्ने भएँ । श्रम नगरेको धेरै भएकाले होला काम गर्दा ज्वरो आउँथ्यो, जिउ दुख्थ्यो । सिटामोल र पेनक्लियर कति खायौँ कति, साध्यै छैन । बारीको पाटामा बस्यो, दिउँसो काममा जोतिन्थ्यो, सात सूर्य उदायजस्तो घामले पोल्थ्यो । राति घनाघोर पानी र हुरी आएर टेन्ट उडाउन खोज्थ्यो । चट्याङले अहिले नै मार्ला जस्तो हुन्थ्यो । मलाई सानैदेखि चट्याङदेखि धेरै डर लाग्थ्यो । कतिबेला रुन्थेँ, मेरो कारण श्रीमती, भाइ र अन्य सहयोगीले दुःख पाए भन्ने लाग्थ्यो । ‘पाप पो गरे कि यिनीहरूलाई यसरी काममा जोताएर’ भन्ने पनि लाग्यो । तीनवटा टेन्ट फेर्नुप¥यो डाँडागाउँ बसाइँमा । दिनभरिको थकाइले यसो सुत्न लागेको हुन्थ्यौँ । बाघ आयो भनेर गाउँले कराउन थाल्थे । हामी बसेका केही तल भर्खर मारेको बाख्राको पाठो भेटियो । कतिबेला बाघको आहार भइने हो भन्ने त्रास मनमा हुन्थ्यो ।

बेला–बेला आमाबुबालाई सम्झन्थेँ । झापामा धमिराले खाएको काठको घर छ । कतिबेला तिनै घरले उनीहरूलाई पुर्ने हो थाहा छैन । आफूभने अरूको घर बनाउँदै छु भन्ने लाग्थ्यो । दुःख सुनाउँ कसलाई ? श्रीमती र भाइ मसँगै दुःख भोग्दै थिए । अनेक समस्यासँग जुधेर त हामीले यति ग¥याँै भने राज्यले चाहने हो भने यस्ता धेरै काम गर्न सक्छ । साधन र स्रोत पाएको भए हामीले गरेको काम बीस दिनमा सम्पन्न हुने थियो । हाम्रो जस्तो भौगोलिक विकटता भएको दशमा सामुहिक बस्ती बसाउन आवश्यक छ । ओल्लो डाँडा र पल्लो डाँडामा बत्ती लान, बाटो बनाउन धेरै लगानी गर्नुपर्छ । नजिक–नजिक घर भए विकास गर्न सजिलो हुन्छ । हामीले नमुना बस्ती बनायाँै । यसबारेमा अब जिम्मेवार निकायले सोच्नुपर्छ ।

डाँडागाउँको पहरी वस्तीमा धेरै आफन्त पाएँ । काका, काकी, मामा, माइजु, फुपू धेरै छन् । चार-पाँचजना मित छन् । नाता नलाग्ने कोही छैन । यो मेरो सुरुवात हो । उक्त गाउँसँग भावनात्मक नाता जोडिएको छ । घर बन्दै जाँदा र जनताको उत्साह देख्दा लाग्यो, ‘यो बस्ती मेरो जिम्मेवारी हो ।’ जुन दिन घर तयार भयो संसार जिते जस्तो लाग्यो, सारा दुःख बिर्सिएँ । सुरुमा जाँदा सम्बन्ध बनाउन जति गाह्रो भयो, छुट्टिदाँ अझ बढी गाह्रो भयो, सबै रोए । उनीहरूसँगै म पनि रोएँ, आँसु थामिएन । अहिले घन्टा–घन्टामा फोन गर्छन् । डाँडागाउँ धेरै सम्भावना बोकेको बस्ती हो । हरेक प्रकारका फलफूल पाइन्छ । खेतीयोग्य जमिन छ, पौरखी हात छन् । राज्यले केही गर्ने हो भने उक्त गाउँ नमुनामात्र होइन, राज्यको पर्यटकीय गाउँसमेत बन्नेछ ।

प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया