‘घाम र पानीमा कसरी पढ्नु ?’

सिन्धुपाल्चोक, ३१ साउन । ‘खुला चौरमा पढ्नुपर्छ, घामले पोल्छ, पानीले भिजाउँछ ।’ बराम्ची–४ स्थित सेतिदेवी मावि कक्षा ६ मा पढ्दै गरेकी सोमरानी तामाङले भनिन्, ‘सरहरूले पढाएको सम्झनसमेत सकिँदैन ।’ यो पीडा उनीको मात्रै होइन सो विद्यालय मा अध्ययनरत उनीजस्तै तीन सय ३३ विद्यार्थीको सामूहिक पीडा हो यो । १२ वैशाखमा गएको विनाशकारी भूकम्पले सेतिदेवि माविका सबै भवन ध्वस्त भएपछि यसरी नै खुला चौरमा अध्ययन गर्न बाध्य छन् । भूकम्पमा तीन छात्रा र दुई छात्र गुमाएको विद्यालय उसै शोकमा छ ।

अझ त्यसमाथि खुला चौरमा विद्यार्थीहरूलाई अध्यापन गराउँदा पीडा थपिएको शिक्षक बालकृष्ण दंगालले बताउँछन् । खाली चौरमा अध्यापन गराउँदा निकै गाह्रो भएको छ शिक्षक दंगालले भने, ‘कहिले पानि कहिले घामले गर्दा अध्यायन गर्ने वातावरण सिर्जना हुनसकेको छैन ।’ घाममा विद्यार्थीहरू पढाउँदा बिरामी हुने, बेहोससमेत हुने गरेको उनले बताए ।

अहिले विद्यालयमा विद्यार्थीहरू बस्ने डेक्सबेन्च छैन, ह्वाइट बोर्ड छैन । भूकम्पपछि स्थानीयहरूले टहरा बनाउन बस्ने डेक्सबेन्च, ह्वाइट बोर्ड सबै लगेपछि अहिले अध्यापन गराउन कठिन भएको छ । विद्यार्थीहरू भुइँमा बसेर पढ्छन्, शिक्षकहरू उभिएर पढाउँछन् । घाम चर्किएपछिनजिकको शितल खोज्न भौँतारिन्छन् शिक्षक विद्यार्थी । पानी परेपछि विद्यालय बन्द हुन्छ ।

विद्यालयमा शौचालय पनि छैन खानेपानी पनि छैन कक्षा ३ मा अध्ययन गर्ने सोममाया लामाले भनिन्, ‘दिशापिसाब लागेपछि पाखातिर जानुपर्छ तर पाखामा समेत ढुक्कले शौच गर्नसक्ने अवस्था छैन । चारैतिर पहिरो गइराखेको छ । शिक्षक दंगाल भन्छन्, ‘विद्यार्थीहरू शौच गर्न गएपछि फर्केर नआउने बेलासम्म हामीलाई तनाव हुन्छ ।’ जिल्लाका शिक्षा क्षेत्रमा र पुननिर्माणका लागि भन्दै थुप्रै एनजिओ आइएनजिओ भित्रिएका छन् । तर सेतिदेवी माविमा कसैले सहयोग नगरेको शिक्षकहरू बताउँछन् । फेज नेपाल भन्ने संस्थाले केही टेन्ट दिएको थियो शिक्षक दंगालले भने तर त्यो टेन्ट सारै सानो भएकाले प्रयोगमा आउन सकेको छैन, १०÷१२ जना विद्यार्थी अट्न मुस्किल भएकाले टेन्ट प्रयोगमा आउन नसकेको उनले बताए ।

जिल्लामा भित्रिएका विभिन्न संस्थाहरूले विद्यालयमा स्थायी कक्षा तथा टिएलसी गररिहेको बताए पनि ग्रामीण भेगका विद्यालय खुला चौरमा सञ्चालन हुन बाध्य छन् ।

विद्यालयलाई ठुलो समस्या पर्दासमेत सरकारी तथा गैरसरकारी संस्थाहरूले बेवास्ता गर्दा विद्यालयको पठनपाठनमा समस्या भएको हो ।

प्रतिक्रिया