एक्सरे सेवा ठप्प

x-reyमार्तडी, ३१ साउन । बाजुरा जिल्ला सदरमुकामा मार्तडीमा रहेको जिल्ला अस्पतालमा दुई सातादेखि एक्सरे सेवा ठप्प भएको छ । जिल्लामा विभिन्न प्रकृतिका बिरामी आउने जिल्ला अस्पतालमा योपटक एक्सरे मेसिन बिग्रेपछि सामान्य हड्डीसम्बन्धीका बिरामीलाई समेत रिफर गर्नुपरेको स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला अस्पतालको महत्वपूर्ण मेसिनका रूपमा रहेको एक्सरे मेसिन बिग्रेपछि विभिन्न किसिमका कवाड सामान राख्ने ठाउँको रूपमा परिणत भएको छ । मेसिन बिग्रेपछि बिग्रेका सामान, मोटर साइकललगायत सामग्री राख्ने गरेको देखिन्छ ।

सदरमुकाम मार्तडीसम्म यातायात सेवा सञ्चालन नहुँदासम्म एक्सरेका बिरामीलाई सेवा नपाउने भएका छन् । दैनिकजसो ५ देखि १० जना एक्सरे गर्नुपर्ने बिरामी आउने गरेका भए पनि मेसिन पूर्ण रूपमा बिग्रेपछि निकै समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख अनुरोधसिंह कार्कीले बताएका छन् । गएको हप्तामा एकजना बालक हात भाँचिएर आएका थिए । तर एक्सरे मेसिन नहुँदा बयालपाटा रिफर गरेकोसमेत उनले बताएका छन् । जिल्लामा सपार्न नसकिने र तलतिर ल्याउँदा भने यातायातको समस्या भएकाले समस्या आएको एक अर्का स्वास्थ्यकर्मीले दुखेसो गरे । यातायातको समस्या देखाउँदै मेसिन बनाउने प्राविधिक पनि नआएकाले गर्दा दैनिकजसो बिरामीहरू निकै समस्यामा परेका उनले बताए ।

हातमा चोट लागेर शुक्रबार मार्तर्डीमा आएकी दहकोटकी एक महिला एक्सरे सेवा नहुँदा उपचार नगरेरै घर फर्केर जानुपरेको थियो । उनले भनिन्, ‘डाक्टर सापले एक्सरे मेसिन बिग्रेको छ, यता सम्भव छैन । तपाईंले बयालपाटा जानुपर्छ भने ।’ उनी आफ्नो आर्थिक समस्या देखाउँदै घर फर्किएको उनका आफन्तले दुखेसो गरेका छन् ।

एक्सरे मेसिन नहुँदा सामान्य बिरामीलाई बयालपाटा धनगढी, नेपालगन्ज, काठमाडौंतिर रिफर गर्दा आर्थिक अवस्था राम्रो नहुने बिरामीलाई सबैभन्दा बढी समस्या हुने गरेको स्थानीय धनकृष्ण विकले दुखेसो गरे । उनले थपे, ‘धन पैसा हुने खानेहरू त ठूलाठूला सहरमा रहेका राम्रा अस्पतालमा लगेर बिरामीलाई उपचार गराउलान । तर, हामीजस्ता गरिबहरूले कता लगेर बिरामीलाई उपचार गराउने ? यता औषधि गरौँ भने एक्सरे मेसिन छैन, रोग पत्ता नलागेरै कसरी औषधि गर्नु ।

तलतिर लैजाने हो भने आर्थिक अवस्था हुँदैन, सबैभन्दा त हामी जस्ता गरिब दलितहरूलाई समस्या भएको छ ।’ सामान्य आर्थिक अवस्थाका बिरामीलाई कता लगेर उपचार गर्ने ? जिल्लामा कहिले औषधि हुँदैन कहिले मेसिन हुँदैन, कैले मेसिन चलाउने प्राविधिक र डाक्टर हुँदैनन्, यस्तो पाराले जिल्ला अस्पताल कसरी चल्छ ? भन्ने प्रश्न गर्दै उनी यो समस्याको समयमै राज्यले सुनुवाइ गर्नुपर्नेसमेत बताउँछन् ।

जिल्ला अस्पतालमा एक वर्षपहिले रेडियो ग्राफर नहुँदा कार्यालय सहयोगी हिक्मत रावलले मेसिन चलाउँदै आएका थिए । तर, यसपटक भने प्रभा भण्डारी र बोलराज आचार्य दुइदुई जना रेडियो ग्राफर जिल्लामा रहँदासमेत एक्सरे सेवा ठप्प भएकाले निकै चिन्ताको विषय भएको नागरिक समाजका अगुवा शेरबहादुर शाहीले बताए ।

अस्पतालमा एक्सरे मेसिन मात्र नभएर सरकारले दिने ७० प्रकारका औषधि पनि नआएको र लगभग ४५ प्रकारका औषधि मात्र आउने गर्दा बिरामी उपचारबाट वञ्चित हुने गरेका छन् ।

प्रतिक्रिया