काठमाडौं, २७ साउन । वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीमाथि बुधबार बालाजुको साइबाबा स्कुलनजिक आक्रमण भएको छ ।
महानिर्देशक सुवेदीलाई आफ्नो निवास बोहोराटारबाट कार्यालय जानेक्रममा नेत्रविक्रम चन्द विप्लव माओवादीका कार्यकर्ताले आक्रमण गरेका हुन् । गाडीमा माओवादी कार्यकर्ताले इँटा प्रहार गरी आक्रमण गरेका थिए । सोही क्रममा उनलाई मुख, ओठ, टाउको र निधारमा गम्भीर चोट लागेको थियो । चालक सानु महर्जन पनि सोही क्रममा घाइते भएका छन् । आक्रमणलगत्तै महानिर्देशक सुवेदी र चालक सानु महर्जनलाई जनमैत्री अस्पतालमा लगिएको थियो ।
उनी अहिले खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ । महानिर्देशक सुवेदीको मृगौला प्रत्यारोपण गरिएकाले स्वास्थ्यमा थप जटिलता नहोस् भनेर निदान अस्पतालमा लगिएको पारिवारिक स्रोतले जनाएको छ । मोटरसाइकलमा सवार ५÷७ जना व्यक्तिले आक्रमण गरी भागेको र घटनास्थलबाट एक मोटरसाइकल पनि बरामद भएको बालाजु प्रहरीले जनाएको छ ।
प्रतिक्रिया