काठमाडौं, २६ साउन । डोटी र गुल्मीमा सोमबार राती गएको पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ ।
डोटीको डौड–३ भल्मामा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनासहित ६ जनाको मृत्यु भएको हो ।
पहिरोमा परी मृत्यु हुनेमा डौड–३ का डम्बरबहादुर विष्टकी ३५ वर्षीया श्रीमती गौरादेवी विष्ट तथा उनका छोरा १२ वर्षीय हर्क विष्ट र पाँच वर्षीय वीरेन्द्र विष्ट, छोरी आठ वर्षीया सरु विष्ट र आठ महिनाकी भावना विष्टको मृत्यु भएको हो । पहिरोमा परेर डम्बरबहादुर घाइते भएका छन् ।
यस्तै, डौड– १ मा पहिरोले घर पुरिँदा ७५ वर्षीया चम्पादेवी सिंहको मृत्यु भएको डौड प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक नवराज अवस्थीले जानकारी दिए । ‘लगातार पानी परिरहेको छ, उद्धारमा कठिनाइ भइरहेको छ’, डौड गाविसभरि विभिन्न ठाउँमा लगातार पहिरो गइरहेको छ ।
पहिरोबाट भएको क्षतिबारे यकिन जानकारी प्राप्त हुन नसकेको इन्चार्ज अवस्थीले बताए । ‘गाउँ वरपरका खोलामा बाढी आएका कारण प्रहरी टोली घटनास्थलमा पुग्न सकिरहेको छैन,’ उनले भने ।
उता, गुल्मी दिबु्रङ–३ गल्छेकमा घरमाथिबाट खसेको पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गल्छेकका खड्कबहादुर सार्कीको घरमाथिबाट आएको पहिरोले घर पुरिएर ३५ वर्षीया श्रीमती आशा सार्की, नौ वर्षीय छोरा गगन सार्की र तीन वर्षीया छोरी इन्दु सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख हिमालयकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सुष्मा सार्की र रिनु सार्की भने भागेर ज्यान जोगाउन सफल भएका थिए ।
प्रतिक्रिया