मोरङ, २५ साउन । नेपालका प्रथम ऐतिहासिक जगतगुरु बालसन्त मोहनशरण देवानाचार्यले नयाँ बन्ने संविधानमार्फत नेपाललाई सनातन वैदिक हिन्दूराष्ट्र कायम नगरे मुलुकमा धार्मिक युद्ध मच्चिने बताएका छन् ।
सोमबार सुनसरीको इटहरीमा पत्रकारहरूसँग भएको औपचारिक भेटघाट कार्यक्रममा बोल्दै नेपालका प्रथम जगत्गुरु बालसन्तले शान्तिपूर्ण आन्दोलनबाट हिन्दूराष्ट्र कायम नभए युद्धको बाटो अपनाउन बाध्य हुने बताए ।
नेपालभरका बालसन्त, साधुसन्त तथा गुरुजनहरूसँग तत्काल सहकार्य गरी आन्दोलनलाई पहिलो चरणमा शान्तिपूर्ण ढंगले अघि बढाइने र सरकारलाई निरन्तर दबाब दिने र अन्त्यमा सडकमा निस्किएर आन्दोलनको आँधीबेहरी ल्याउने उनले बताए ।
हिन्दूराष्ट्र प्राप्तिका लागि पूर्वको केन्द्र इटहरीबाट बिगुल फुके पनि सो आन्दोलन सफलताको खुड्किलोसम्म पुग्न नसकेको बताउँदै उनले अबको आन्दोलन योजना बद्ध र चरणबद्ध रूपमा अघि बढ्ने बताए ।
पत्रकारहरूसँग कुराकानी गर्दै पहिलो चरणको आन्दोलनका कार्यक्रम सबै शान्तिपूर्ण रहने र त्यति गर्दा पनि सरकार मौन रहे सशक्तरूपमा आन्दोलनलाई अघि बढाउने उनले बताए । बालसन्त देवानाचार्यले पूर्वका विभिन्न जिल्लामा हिन्दूको बेग्लाबेग्लै सभाको आयोजना गरी आन्दोलनका विषयमा थप योजना बनाइने बताए ।
उनले झापा, दमक, उर्लाबारी, पथरी, बिराटचौक, गछियालगायत स्थानमा चाँडै नै हिन्दूराष्ट्रका पक्षमा विशाल सभा आयोजना गरिने बताए । इटहरीमा जारी आन्दोलनलाई निरन्तरता दिनुपर्ने बताउँदै उनले आन्दोलनमा कुनै प्रकारको हिंसात्मक क्रियाकलाप नगर्न र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न आन्दोलनरत समूहलाई आग्रहसमेत गरे ।
प्रतिक्रिया