मन्त्रीकै कारण उपकुलपति नियुक्ति अन्योल

chitralekhaकाठमाडौं, २१ साउन । विश्वविद्यालयको सहकुलपतिको जिम्मेवारी भएकी शिक्षामन्त्री चित्रलेखा यादव मुलुकबाहिर रहेका कारण ७ विश्वविद्यालयहरूको उपकुलपति नियुक्ति अन्योलमा परेको छ ।शुक्रबारबाट त्रिभुवन विश्वविद्यालयलगायत मुलुकका ७ वटा विश्वविद्यालयका उपकुलपतिहरूको पदावधि सकिँदै छ । त्रिविसँगै पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयको नयाँ उपकुलपतिको नियुक्तिमा प्रभाव परेको हो । अन्यमा भने मन्त्रीको संयोजकत्वमा समिति नबन्ने व्यवस्था छ । मन्त्री यादव अहिले मलेसिया भ्रमणमा छिन् ।
त्रिवि उपकुलपति हीराबहादुर महर्जन, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति महेश्वरमान श्रेष्ठ, पोखरा विश्वविद्यालयमा उपकुलपति खगेन्द्रप्रसाद भट्टराईको पदावधि सकिँदै छ । यसैगरी नेपाल संस्कृत विश्वविद्यालयमका उपकुलपति शिवहरि मरहठ्ठा, मध्यपश्चिम विश्वविद्यालयका जयराम पदमलाल देवकोटा, सूदुरपश्चिम विश्वविद्यालयमा उपकुलपति जयराज अवस्थी र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा उपकुलपति कैलाशनाथ प्याकुरलेको पदावधि पनि सकिँदै छ ।
मन्त्री यादवले छनोट समिति गठन नगर्दा उपकुलपति नियुक्त प्रक्रिया ढिलो भएको नेपाल प्रध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्ययले बताए । शिक्षामन्त्री विदेश सयरमा व्यस्त भएकोले छनोट समिति नै गठन हुनसकेको छैन । अहिलेको मन्त्री मण्डलमा यादव सबैभन्दा बढी विदेश घुम्ने मन्त्री भएका कारण विवादमा तानिएकी छन् । मन्त्री यादव त्रिविको सहकुलपति रहने व्यवस्था रहेको छ । सहकुलपतिको संयोजकत्वमा गठित ३ सदस्य छनोट समितिले मन्त्रिपरिषद्मा नाम सिफारिस गरेपछि उपकुलपति नियुक्त हुने व्यवस्था रहेको छ । ‘छनोट समिति गठन गरी आजसम्म विश्वविद्यालयका नयाँ उपकुलपतिका लागि नाम सिफारिस भइसक्नुपर्ने हो,’ उपाध्ययले भने, ‘तर, समिति नै बनेको छैन । समिति नबन्दा कहिले उपकुलपति नियुक्त हुने हो अन्योलमा छ ।’
विश्वविद्यालय ऐनमा शिक्षामन्त्रीको संयोजकत्वमा २ जना त्रिवि सभाषद् सहितको छनौट समिति गठन हुने व्यवस्था छ । नेपाल प्रगतिशील प्रध्यापक संघका अध्यक्ष यादव लामिछानेले शिक्षामन्त्रीकै कारण केही दिन ढिला हुने बताए । ‘उपकुलपति नियुक्ति प्रक्रिया थालिहाल्नपर्ने थियो,’ उनले भने, ‘तर, अहिलेसम्म भएको छैन । शुक्रबार शिक्षामन्त्री आउने कुरा छ । त्यसपछि हुन्छ ।’
नयाँ उपकुलपतिका लागि अहिलेका रेक्टर गुणनिधि न्यौपाने, शिक्षाविद् तीर्थ खनियाँ, भरत पहाडी, महेश दहाल, उपेन्द्र कोइराला, चिरञ्जीवी शर्मालगायतको नाम चर्चामा रहेको छ ।

प्रतिक्रिया