सात विश्वविद्यालयमा नियुक्ति गर्न माग

tuकाठमाडौं, १३ साउन । सातवटा विश्वविद्यालयमा रिक्त हुन लागेका उपकुलपति पदमा नियुक्तिका लागि नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघले विभिन्न प्राध्यापकको नाम सिफारिस गरेको छ ।

यही साउन २३ गतेदेखि रिक्त हुने त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र वन तथा कृषि विश्वविद्यालयको उपकुलपतिका लागि संघले नाम सिफारिस गरेको हो ।

यी सबै विश्वविद्यालयका उपकुलपतिको कार्यकाल यही साउन २२ गतेदेखि सकिन लागेको छ ।

कांग्रेस निकटका प्राध्यापक आबद्ध रहेको संघले सबै रिक्त पदका लागि आफ्नो तर्फबाट नामावली तयार पारेर काँग्रेसबाट शिक्षामन्त्री हुनु भएकी चित्रलेखा यादवलाई सिफारिस गरेको संघका कोषाध्यक्ष विष्णु पोख्रेलले जानकारी दिए ।

संघले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि प्राथमिकताका आधारमा क्रमशः वासुदेव घिमिरे, गुणनिधि न्यौपाने, तीर्थ खनियाँ, अम्वराज जोशी, गोविन्दप्रसाद आचार्य, चन्द्रलाल श्रेष्ठ र रेणुका जोशीको नाम सिफारिस गरेको छ ।

त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि माधवराज गौतम, प्रेमकुमार आचार्य, पुरुषोत्तम दाहाल, कार्तिकेय झा र भोजराज पन्तको नाम संघले सिफारिस गरेको छ ।

बैठकले पूर्वाञ्चलका लागि बद्रीनाथ श्रेष्ठ र घनश्यामलाल दास, सुदूरपश्चिमका लागि चेतराज भट्ट र भूषण श्रेष्ठ, मध्यपश्चिमका लागि बसन्तराज शर्मा र कालीप्रसाद पाण्डे, पोखरा विश्वविद्यालयका लागि वेदनाथ शर्मा र विनोद श्रेष्ठ, वन तथ कृषि विश्वविद्यालयका लागि जगतलाल यादव र हरिहर बौडेलसहित पाँच/पाँच जनाको नाम सिफारिस गरेको कोषाध्यक्ष पोख्रेलले जानकारी दिए ।

मकवानपुरको हेटौँडामा बसेको संघको केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले प्राध्यापकको कार्यदक्षता, अनुभव, वरिष्ठतालगायतका आधारमा नामावली तयार पारेको उनले बताए ।

संघले शिक्षामन्त्री यादवलाई भेटेर संघको निर्णयअनुसार नियुक्त गर्न आग्रह गर्ने योजना बनाएको छ ।

यसअघि शिक्षामन्त्री यादवले संघको सिफारिसका आधारमा नियुक्तिको निर्णय लिने आश्वासन दिएको उनले बताइन् ।

संघको निर्णयलाई शिक्षामन्त्री यादवले अवलम्बन गर्ने विश्वास संघले लिइएको पोख्रेलको भनाइ छ ।

कांग्रेसको शिक्षा विभाग प्रमुख चन्द्र भण्डारीले पनि संघको निर्णयलाई शिक्षामन्त्रीले मुख्य आधार मान्नुपर्ने बताए ।

सम्बन्धित संघ सङ्गठनको सल्लाह र सिफारिसमा नियुक्त गर्ने संस्कारले व्यक्तिवादी प्रवृत्ति अन्त्य हुने र उचित ठाउँमा उचित व्यक्तिले जिम्मेवारी पाउने उनको तर्क छ । तर सम्बन्धित संघ सङ्गठनले दिने सुझाव तथा सिफारिस पनि प्राज्ञिक आधारमा हुनुपर्ने नेता भण्डारीको भनाइ छ ।

सोमबार र मङ्गलबार बसेको संघको पूर्ण बैठकले त्रिवि प्राध्यापक संघ र पब्लिक क्याम्पस प्राध्यापक संघको निर्वाचन अविलम्ब गर्न पनि दुवै संघलाई आग्रह गरेको छ ।

लामो समयदेखि करार सेवामा रहेका शिक्षण सहायकलाई प्रक्रिया पुराएर अस्थायी दरबन्दीमा उपप्राध्यापक पदमा नियुक्त गर्न र विश्वविद्यालय सेवा आयोगमार्फत तुरुन्त स्थायी गर्न संघले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया