हिंस्रक संस्कृति

टुप्चे, नुवाकोटका राकेश तामाङ ९/१० वर्ष अघिदेखि ट्याक्सी चलाउँथे । उनले ६ महिनाअघि सदाबहार फाइनान्सबाट लोन लिएर बा१ज २३०१ नम्बरको पुरानो ट्याक्सी किने । साउन ९ गते शनिबार सोह्रखुट्टेमा थिए । नेकपा माओवादी (विप्लव) पार्टीका दुईजना नेता आए । ‘जाने हो ?’ भनेर सोधे । राकेशले ‘हुन्छ’ मात्र भनेका थिए पेट्रोल खन्याएर ट्याक्सीमा आगो लगाइदिए । पेट्रोल खन्याएकाले तत्कालै ट्याक्सी ह्वार्ह्वार्ती बल्यो । राकेशको कपाल र हात जल्यो । बाँच्न सके, तर कमाइखाने साधन खरानी भयो । इन्स्योरेन्स गरेका रहेनछन्, ऋणमा डुबे । त्यसदिन दिनभरि नै उनीहरू कतै गाडी तोडफोड गरिरहेका र कहीँ गाडी जलाइरहेका थिए ।
राष्ट्रका अगुवा हुनुपर्ने, उनीहरूकै अगुवाइमा समग्र राष्ट्र पछि लाग्नुपर्ने र अनुशरणकर्ताहरूका लागि रोलमोडेल बन्नुपर्ने राजनीतिक नेताहरू नै यति तल ओर्लेर अत्यन्तै क्रुर र निकृष्ट कर्म गर्छन् भने यसले के सन्देश दिन्छ ? उनीहरूका कर्म, व्यवहार र चरित्र हेरेर सर्वसाधारणले के सिक्छन् र के बुझ्छन् ?
एघार वर्षअघि नोबेल पुरस्कार प्राप्त गर्दा हँगेरीका कथाकार इमरे कर्तेजले आफ्नो नोबेल व्याख्यानमा भनेका छन्, ‘हिंसा एकदमै नौलो विषय त होइन, तर यो व्यवस्थित र नियमित हिंसाचाहिँ नयाँ हो । हिंसा हाम्रो जनजीवनमा झन्–झन् प्रभावशाली र शक्तिशाली व्यवस्था बनेर स्थापित भएको छ, यो गम्भीर चिन्ताको विषय हो । हत्या, हिंसा र आतंकलाई स्वीकारिएको छ, यसलाई सहज र स्वाभाविक मानिएको छ, यो निकै खतरनाक छ ।’
इमरे कार्तेजले भनेजस्तो यो हिंस्रक वातावरण कसले निर्माण गरिरहेछ ? यसका लागि तीन तत्व जिम्मेवार देखिन्छन् । पहिलो तत्व न्याय र समताको अभाव हो । विभेद र पक्षपातको पीडा खपिनसक्नु हुन्छ । हाम्रो राज्यव्यवस्थामा न्याय, विवेक र संवेदनशीलताका तत्व भेटिँदैनन् । समतामूलक व्यवहार उसको संस्कारमै छैन । निरन्तर अन्याय, अत्याचार, अपमान र पक्षपात जब खपिनसक्नु हुन्छ तब त्यो विस्फोट हुन्छ । त्यो विस्फोट हिंस्रक रूपमा देखापर्न सक्छ ।
दोस्रो तत्व हो, अपराधीको सम्मान । सबै ठूला पार्टीले अपराधी डनहरूलाई ज्वाइँसरि पालेका छन् । उनीहरू नै निर्णायक र प्रभावशाली भएर रहेका छन् । अपराधीलाई असजिलो पर्ने भएकाले नेताहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतसम्बन्धी रोम विधानलाई अनुमोदन गर्दैनन् । ९/१० वर्षदेखि हामी देखिरहेछौँ, अनेक सशस्त्र अपराधी समूहले तराईमा र त्यस्तै अनेक जातीय नामधारी समूहले पूर्वी पहाडमा हत्या, हिंसा, फिरौती, जबर्जस्ती असुली र चन्दाआतंक मच्चाइराखेका छन् । तर, हाम्रा मन्त्रीहरू र सांसदहरू तिनीहरूको ठेगाना खोज्दै पुग्छन् । तिनीहरूलाई राजनीतिक आवरण ओढाइदिन्छन् । अपराधीलाई कारबाही होइन खोजी–खोजी सम्मान गर्ने र उच्च आसनमा विराजमान गराउन थालेपछि त्यसबाट भयंकर सन्देश प्रवाह भएको छ । त्यसले सबैलाई अपराधकर्मतर्फ उत्प्रेरित गरेको छ र अपराधकर्मको बाटो नपक्रने, त्यता लाग्न नसक्ने र लाग्न नचाहनेलाई उल्टै पछूतो मान्नुपर्ने स्थितिमा पुर्‍याएको छ । तेस्रो तत्व हो, नेपाली समाज । नेपाली समाज अन्धभक्त छ । हुँदोनहुँदो जेसुकै गरेर र अनेकौँ अपराध गरेर शक्ति र धन आर्जन गरेको भए पनि आँखा चिम्लेर त्यसैको पछि लाग्छ । नेपाली समाजले असल, सदाचारी र त्यागी मान्छेको खोजी र कदर गर्दैन । मूल्य, मान्यता र मानकहरू कतै फेला पर्दैनन् । अपराध गरेर आर्जन गरेको धनले समाजमा अग्रस्थान पाइन्छ भने त्यस्तो समाजमा बेवकुफ मूर्खले मात्र सदाचारी बन्ने चेष्टा गर्छ ।
अल्बेयर कामु ‘विद्रोही’ मा लेख्छन्, ‘आतंक र क्रुरताको बलमा स्थापना गरिएको राज्य र राज्यसञ्चालनको हिंस्रक शैलीले न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्दैन ।’ अल्बेयर कामु अझै जोड दिएर भन्छन्, ‘विद्रोह, जो अन्यायपूर्ण र विभेदकारी राज्यव्यवस्थालाई विस्थापित गरेर समतामूलक र न्यायपूर्ण राज्यव्यवस्था स्थापित गर्नका लागि भनेर गरिएको हो, जब त्यसले हिंसालाई नै केन्द्रमा राखेर, त्यसैमा आधारित सत्ता स्थापित गर्छ भने साविकको भन्दा झन् चर्को अन्याय र दमनको साम्राज्यमा परिणत हुन्छ, जसलाई हटाउने भनेर विद्रोह गरिएको थियो ।’ जब समाज र राज्यको अन्तर्जीवनमा हिंस्रक संस्कृति व्याप्त हुन्छ, तब खलील जिब्रान भन्छन्, ‘त्यहाँ चलाकीलाई प्रतिभा, टपर्टुइयाँलाई ज्ञानी, आत्महीनतालाई नम्रता र कायरतालाई समर्थन भनेर व्याख्या गरिन्छ ।’ जिब्रानले भनेजस्तै नेपालमा अपराधीहरू सत्ताको शिखरमा हुनेछन् र सज्जनहरू सुरक्षित ठाउँ खोज्दै अँध्यारो कुनामा भेटिनेछन् ।

प्रतिक्रिया