कुटपिटपछि बेपत्ता युवकको अवस्था अझै अज्ञात

म्याग्दी, ७ साउन । म्याग्दीको बेग–९ तिप्ल्याङ्बाट करिब दुई महिनाअघि बेपत्ता भएका एक युवकको अवस्था अझै अज्ञात रहेको छ ।

कुटपिटपछि बेपत्ता भएका हिस्तान– ९ दोसल्लेका २७ वर्षीय रवीन पुनको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

जेठ ९ गते साँझ तिप्ल्याङमा स्थानीय युवासँग भएको झगडापछि रवीन र उनका भाइ मनकुमारमाथि कुटपिट भएको थियो ।

कुटपिटको घटनालगत्तै रवीन बेपत्ता भएका थिए । दुई महिनासम्म खोजबिन गर्दा पनि बेपत्ताको अवस्था पत्ता लाग्न नसकेपछि परिवार तथा आफन्तजनले हत्या भएको शङ्का गरेका छन् ।

पर्याप्त प्रमाण फेला नपर्दा प्रहरीलाई घटनाको अनुसन्धान अघि बढाउन समस्या परेको छ ।

कुटपिटमा संलग्न भएको आरोपमा पक्राउ परेका सातजना युवक प्रहरीको नियन्त्रणमा छन् ।

रवीनका आफन्त तथा परिवारले ‘कि सास, कि लास’ को माग गरेका छन् ।

दुई महिनासम्म पनि अत्तोपत्तो नलागेकाले जीवित भेटिने आश मरिसकेका रवीनका बुबा निलप्रसाद पुनले बताए ।

घटनाको वास्तविक छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गर्दै दोसल्ले, महभिरका बासिन्दा र बेपत्ता रवीनका आफन्तजनले बुधबार बेनीमा आएर जिल्ला प्रशासन र अदालत कार्यालय अगाडि नाराबाजी गरेका थिए ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरुले पुन दाजुभाइलाई कुटपिट गरेको स्वीकार गरेका छन् ।

कुटपिटपछि रवीन भागेको तर हत्या नगरेको उनीहरुको दाबी छ ।

बेपत्ता व्यक्तिको अवस्था पहिचान नभएको र मृत्यु भएको प्रमाण पनि फेला नपरेकाले अप्ठ्यारो परेको प्रहरी निरीक्षक विमलकुमार उपाध्यायले बताए ।

प्रतिक्रिया