जनआन्दोलन भाग–२ को उपलब्धि नबिर्सन सुझाव

परासी, ५ साउन । संविधानको प्रारम्भिक मस्यौदामा जनताको राय सङ्कलन गर्न नवलपरासी पुगेका सभासद्हरुलाई सहिदको सम्मान हुनेखालको संविधान निर्माण गर्न जनताले सुझाव दिएका छन् ।

जनआन्दोलन भाग–२ को उपलब्धिलाई नबिर्सेर जनतामैत्री संविधान बनाउन सभासद्हरुलाई सुझाव दिएका र सभासद्हरुलाई जनआन्दोलनको मर्मलाई नबिर्सेर संविधान बनाउन स्थानीयबासीले माग गरेका छन् ।

सभासद्हरुसमक्ष स्थानीयले जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र देशमै रोजगारीको ग्यारेन्टी भएको जनताको संविधान बनाउन सुझाव दिएका हुन् ।

केही राजनीतिक पार्टीहरुको मात्र होइन कि सबैको सहमतिको दस्तावेज संविधान हुनुपर्नेमा नवलपरासीका नागरिकले जोड दिएका छन् ।

संविधानको प्रारम्भिक मस्यौदामाथि नवलपरासीका केही जनताले धार्मिक स्वतन्त्रता, सङ्घीयतासहितको संविधान ल्याउनु पर्नेमा समेत आफ्ना मत राखेका थिए ।

नवलपरासीका छवटै निर्वाचन क्षेत्रमा जनताको उत्साहजनक सहभागितामा संविधानको प्रारम्भिक मस्यौदामा जनताको राय सङ्कलन कार्य भएको छ ।

यसैबीच, प्रहरीको झडपमा परी कार्यकर्ता घाइते भएको विरोधमा संयुक्त मधेसी मोर्चाले आज आह्वान गरेको मधेस बन्दको प्रभाव बिहानैदेखि नवलपरासीमा पनि परेको छ ।

बन्दका कारण सदरमुकाम परासीसहित यस आसपासका क्षेत्रमा बिहानैदेखि यातायात, बजार पूर्णरुपमा बन्द छ । बन्दका कारण परासीबाट छोटा तथा लामा दूरीका सवारी साधन छुटेका छैनन् । बन्दको प्रभाव राजमार्ग क्षेत्रमा कम मात्रामा परेको छ ।

सोमबार जनकपुरमा आफ्ना कार्यकर्ता प्रहरीको झडपमा परी घाइते भएको विरोधमा मोर्चाले आज मधेस बन्दको आह्वान् गरेको हो । बन्दका कारण सदरमुकाम क्षेत्र सुनसान छ ।

प्रहरीले बिहानैदेखि व्यापकरुपमा प्रहरी परिचालन गरेको छ । यद्यपि नवलपरासीमा आज पनि संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको सुझाव सङ्कलन कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया