काठमाडौं । ‘मिस सुपर ट्यालेन्ट वल्र्ड २०१५’ मा नेपालको प्रतिनिधित्व गर्ने प्रतिभा खोज्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘मिस सुपर ट्यालेन्ट नेपाल २०१५’ आयोजना हुने भएको छ । हालैको महाभूकम्पले मुलुकको पर्यटन व्यवासाय धरासायी भएको अवस्थामा नेपाली कला संस्कृतिलाई विश्वमा चिनाउन कार्यक्रम आयोजना गर्न लागेको आयोजकले बताएका छन् ।
नेस्ट मोडल्स नेपाल प्रतियोगिताको आयोजक संस्था हो । नेपालमा अन्तर्राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता गरेर नेपाली युवतीको क्षमता अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय मोडलिङ र फेसन जगतमा नेपालको उपस्थिति दर्बिलो बनाउनु आप्नो उद्देश्य रहेको आयोजक बताएका छन् । प्रतियोगिताको विजेताले अमेरिकाको लास भेगासमा आगामी डिसेम्भर १० मा आयोजना हुने ‘मिस सुपर ट्यालेन्ट वल्र्डमा २०१५’ मा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।
‘मिस सुपर ट्यालेन्ट वल्र्ड’ विगत वर्षहरूमा ‘मिस एसिया प्यासिफिक’ को नामबाट आयोजना हुँदै आएको थियो । अघिल्लो वर्ष ‘मिस एसिया प्यासिफिक’ मा २०१० की मिस नेपाल सदिक्षा श्रेष्ठले सहभागिता जनाएकी थिइन् । यसपटकबाट भने ‘मिस सुपर ट्यालेन्ट नेपाल’ ले सहभागिता जनाउन पाउने आयोजक नेस्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।
‘मिस सुपर ट्यालेन्ट नेपाल’ का लागि अहिले आवेदन खुला गरिएको छ । प्रतियोगिताको पहिलो चरणको अडिसन साउन ९ र १६ गते राजधानीमा हुनेछ । पहिलो र दोस्रो अडिसनबाट छानिएका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागि एक महिने प्रशिक्षण दिइनेछ । प्रशिक्षणका क्रममा उनीहरूलाई अन्तर्राष्ट्रिय रन वे, व्यक्तित्व विकास, ग्रुमिङ, अन्तर्राष्ट्रिय फोटोग्राफी एवं फोटो सुट, सञ्चार कला, स्टेज पर्फर्मेन्सलगायत विषयमा दक्ष व्यक्तित्वद्वारा प्रशिक्षण दिइनेछ ।
प्रतियोगितामा ‘मिस सुपर ट्यालेन्ट नेपाल २०१५’ को शीर्ष उपाधिसहित आधा दर्जन उपविधामा विजेता छानिनेछ । प्रतियोगिताको विजेताले उपाधिका साथ नगद एक लाख रुपैयाँ, विभिन्न अन्तर्राष्ट्रिय उत्पादनको ब्रान्ड एम्बेसडर, कर्पोरेट विज्ञापनमा अभिनयको अवसरका साथै विभिन्न उपहार प्राप्त गर्नेछन् । प्रतियोगिताको अन्तिम स्पर्धा भदौको अन्तिम सातामा आयोजना हुनेछ ।
प्रतिक्रिया