मण्डलामा वैतरणी क्याफे

Baitarniकाठमाडौं । राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा साउन आठ गते शुक्रबारदेखि नाटक ‘वैतरणी क्याफे’को मञ्चन हुने भएको छ । मण्डला थिएटर नेपालका पुराना र प्रशिक्षार्थी गरी ३५ जना कलाकारको सहभागिता रहने नाटकका लेखक तथा निर्देशक दयाहाङ राई हुन् । उनलाई लेखन तथा निर्देशनमा सोमनाथ खनालले सघाएका छन् ।
‘मान्छेको जुनी फेर्न आएका केही मृतप्रायः प्राणीहरूको चरित्र यात्रा नाटकको मूल कथा हो, नाटकका चरित्रहरूलाई मान्छे बन्ने सामूहिक रहर छ, आशा पनि छ, रहर र आशा मिसिएर उद्देश्य बन्छ’ निर्देशक दयाहाङले भने, ‘सामूहिक उद्देश्य पूरा गर्न सामूहिकतामै काम गर्नुपर्छ । सामूहिकतामा काम गर्न चुनौती हुन्छ र उतिकै सहज पनि, नाटकको सारांश यहि नै हो ।’
नाटकमा वाल्मीकि पोखरेल, सिर्जना सुब्बा, विजया कार्की, विजय बराल, उमेश तामाङ, मोहम्मद नाजिर हुसेन, विकास जोशी, आर्जेश रेग्मी, संयोग गुरागाइँ, रियर राई, अनुप न्यौपाने, मिलन कार्की, रोहित पौडेल, अंकित खड्काले अभिनय गर्नेछन् । उनीहरूबाहेक मोहनराज अधिकारी, सागर खाती, शारदा अधिकारी, शक्ति राई, विनिता गुरुङ, रञ्जनावली, कुशल पाण्डे, दिलजंग गुरुङ, सन्दीप श्रेष्ठ र सुरज श्रेष्ठलाई पनि नाटकमा देख्न सकिनेछ ।
यो नाटकको मञ्चनसँगै मण्डला नाटकघरमा रोकिएको नियमित नाटक मञ्चनको श्रृंखला फेरि सुचारु हुने थिएटरका अध्यक्षसमेत रहेका दयाहाङले बताए । गएको वैशाख १२ गते भूकम्प आउँदा यहाँ राईद्वारा लिखित तथा निर्देशित नाटक ‘जिरो जिरो जेड’ मञ्चन भइरहेको थियो र सँगै उनकै निर्देशनमा सरुभक्त लिखित नाटक ‘सिरुमारानी’को पूर्वाभ्यास भइरहेको थियो ।
‘नयाँ नाटक लिएर आउन पाउँदा अत्यन्तै उत्साहित भएका छौँ’, राईले थपे, ‘विपत्पछिको परिस्थितिमा कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा आधारित नाटक भएकाले सान्दर्भिक हुन्छ भन्ने लागेको छ ।’ मण्डलाका निर्देशक राजन खतिवडाले मनोरञ्जनसँगै आशा र सकारात्मक सोच जगाउने किसिमको नाटक तयार पार्ने क्रममा वैतरणी क्याफे तयार भएको बताए । (सौस)

प्रतिक्रिया