वन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित

धनकुटा, ३१ असार । नयाँ संविधानको मस्यौदाको बिरोध र लिम्बुवान राज्य घोषणाको माग गर्दै लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीले आह्वान गरेको एक दिने आम हड्तालका कारण आज पूर्वी नेपालको जनजिवन प्रभावित भएको छ ।

अन्तरिम संविधान र अदालतको आदेशलाई समेत नमानेर ल्याइएको संविधानको मस्यौदा अस्वीकार्य रहेको सो पार्टी आरोप छ ।

उसले अरुण पूर्वलार्ई इतिहाँस र पहिचानको आधारमा लिम्वुवान राज्य घोषणाको माग गर्दै पूर्वका ९ जिल्लामा बन्द आवहन गरेको हो ।

बन्दका कारण अरुण पूर्वका धनकुटा, तेह्रथुम, संखुवासभा, ईलाम, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ र झापामा बिहानैदेखि सवारी आवतजावत प्रभावित भएको छ ।

ती जिल्लामा फाटफुट बाहेक लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन भएका छैनन् ।

सवारी ठप्प हुँदा तराई हुँदै पूर्वी पहाडी जिल्ला जोड्ने कोशी राजमार्ग पनि बिहानैदेखि सुनसान छ ।

यता एम्वुलेन्स, प्रेस, दुध बोक्ने ट्याङ्करलगायत अत्यावस्यक प्रयोजनका सवारी भने सञ्चालन भइरहेका छन ।

प्रतिक्रिया