दोलखा, ३१ असार । आदिवासी जनजाति समुदायका महिलाका लागि आयोजित दुई दिने जलवायु परिवर्तनसम्बन्धी क्षमता अभिवृद्धि तामिल सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । तालिम नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् दोलखाले नेफिन–जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा आयोजना गरेकोे हो ।
जलवायु परिवर्तनको असर न्युनीकरणका लागि आवश्यक जानकारी दिन आयोजित तालिममा विभिन्न जातीय संस्थाका ४० महिलाको सहभागिता रहेको थियो । तालिममा जलवायु परिर्वतन, यसको असर, प्रभाव र रेडप्लस अवधारणा, आदिवासी जनजातिको प्रथाजनित अभ्यास, जल, जमिन र जंगलसँगको अन्योन्याश्रित सम्बन्धमा महिलाको भूमिकालगायतका बारेमा छलफल गरिएको थियो ।
दोलखाका जिल्ला वन अधिकृत रविन्द्र महर्जन, सहायक वन अधिकृत गोविन्द दाहाल, नेपाल आदिवासी जनजाति महासंघका दोलखाका पूर्वअध्यक्ष जीवन लामालगायतले तालिमको सहजीकरण गरेका थिए । कार्यक्रममा नेपाल सरकारले तयार पार्दै गरेको राष्ट्रिय रेड रणनीतिलगायत सरकारी तथा गैर सरकारी निकायबाट जलवायु परिवर्तनका क्षेत्रमा सञ्चालित गतिविधिका बारेमा पनि जानकारी गराइएको प्रशिक्षक लामाले बताए ।
तालिममा जिल्लाका थामी, जिरेल, तामाङ, शेर्पा, भुजेललगायत आदिवासी जनजाती समुदायका महिलाले सहभागिता जनाएका थिए । हिमाली जिल्ला दोलखामा अन्य जिल्लाको तुलनामा जलवायु परिवर्तनले बढी असर पारेको भन्दै विभिन्न निकायले त्यसको न्यूनीकरणका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् ।
प्रतिक्रिया