पूर्वाग्रही भयो : एमाले

Uml-Netaकाठमाडौं, ३१ असार । सत्ता साझेदार नेकपा एमालेले बजेट पूर्वाग्रही ढंगबाट आएको जनाएको छ । संसदीय दलको बुधबारको बैठकले बजेटको विरोध गरेर जाने निर्णय गरेको छ ।

अर्थमन्त्री डा. रामशरण महतले मंगलबार व्यवस्थापिका–संसद्मा पेस गरेको बजेट कांग्रेसको निजी भएको एमालेको ठहर छ । ‘हामी सरकारमा भए पनि यसमा हाम्रो सहभागिता देखिएन, हामीलाई यो स्वीकार्य हुँदैन,’ बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले भने, ‘यसको प्रतिवाद गरेर अघि बढौँ ।’
संविधानसभा भवन नयाँ वानेश्वरमै बसेको बैठकमा अध्यक्ष ओलीले बजेटमा भएका कमजोरी र पूर्वाग्रहबारे सरकारको अगुवाइ गरिरहेको नेपाली कांग्रेसले गम्भीरतापूर्वक नलिए परिणाम ठीक नहुने चेतावनी पनि दिएका थिए । संसद्को बैठकमा सोही रूपमा प्रस्तुत हुन निर्देशित गर्दै ओलीले भने, ‘बजेटलाई हेर्दा यो मुलुक कांग्रेस एक्लैले चलाएको जस्तो भान भयो, यो हुनु दुःखद् हो । यसको हामी प्रतिवाद गरेर अघि बढ्छौँ ।’
बैठकमा बजेटका राम्रा–नराम्रा र कमजोरीका पक्षबारे छलफल भएको थियो । त्यसबारे राष्ट्रिय योजना आयोगमा पार्टीका तर्फबाट पठाइएका सदस्य प्रेम दंगाललगायतले ब्रिफिङ गरेका थिए ।
एमाले नेता माधवकुमार नेपालले बजेटमा राजनीतिक गन्ध आएको बताए । उनले भने, ‘बजेटमा राजनीतिक गन्ध देखियो । सत्ता साझेदार दलसँग पनि खुला छलफल नगरी ल्याइयो । यसबाट एमालेको चित्त दुखेको छ ।’ नेता नेपालले आग्रह र पूर्वाग्रहका साथ बजेट ल्याइएको, राष्ट्रिय गौरवका आयोजनालाई महत्व नदिइएको, पुष्पलाल, मदन भण्डारीजस्ता नेताका नामका कार्यक्रम र त्यससम्बन्धी प्रस्तुतिमा सम्मानजनक स्थान नदिएको बताए । बैठकमा नेता नेपाल, उपाध्यक्ष विद्या भण्डारी, नेता सुरेन्द्र पाण्डे, प्रमुख सचेतक अग्निप्रसाद खरेललगायतले बोलेका थिए । बजेट ल्याउँदा कांग्रेसले मदन भण्डारी, मनमोहन अधिकारी, पुष्पलालका नाममा भएका गौरवहरूको कमजोर मूल्यांकन गरेको एमालेको ठहर छ । ‘महान् व्यक्तिका नाममा जसरी अपमानजनक ढंगले व्याख्या भएको छ, एमालेलाई यो स्वीकार्य हुनेछैन ।’

प्रतिक्रिया