काठमाडौं । प्रथम खोटाङ सुगम स्टारका विजेता गायक सचिन राईले डेब्यु एल्बम ‘सुगम स्टार सचिन’ श्रोतामाझ ल्याएका छन् । सानै उमेरदेखि गायनमा चासो राख्ने सचिनले ०६९ सालमा खोटाङ सुगम स्टारको उपाधि चुमेका थिए ।
रामधन वेदनाको रचनामा रहेको शीर्ष गीत ‘म हुँ सुगम स्टार’ बाट सुरु भएको एल्बममा गीतकार टीका चाम्लिङ, हर्क राई, प्रेम सापकोटाको शब्द समेटिएको छ । एल्बममा ‘म हुँ सुगम स्टार’, ‘अनौठो माया हाम्रो’, ‘अल्लारे बैँस ढल्केर जाला’, ‘कसम ढाँट्या होइन’ बोलका गीत छन् । गीतमा विनोद खम्बु, ओमप्रकाश राई, अशोक राई र विपिन आचार्यको संगीत छ । रिभेन्ज म्युजिक क्रिएसनले गीति एलबमलाई बजारमा ल्याएको हो ।
सचिन ‘नेपाल आइडल सिजन पूर्वाञ्चल आइडल’को उत्कृष्ट दशमा परेका गायक पनि हुन् । नेपाल टेलिभिजनबाट प्रसारित ‘खोजी प्रतिभा सिजन–१’ मा समेत सहभागी उनी ‘खोटाङ तारा’को छनोटमा उत्कृष्ट दशमा परेका कलाकार हुन् । गायक राई खोटाङ सेवा समाज हङकङ र खोटाङ सेवा समाज मलेसियाले आयोजना गर्न लागेको सांगीतिक कार्यक्रमका लागि मलेसिया र हङकङको यात्राको तयारीमा छन् । (सौस)
प्रतिक्रिया