काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०२औँ जयन्तीको अवसर पारेर भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाली भाषा तथा संस्कृतिमा योगदान पु¥याएका साहित्यकारद्वय चूडामणि रेग्मी र तेजेश्वरबाबु ग्वंँगलाई सम्मान गरिएको छ । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशिल कोइरालाले उनीहरूलाई दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गरेका हुन् ।
सम्मानपछि प्रतिष्ठानले रेग्मी र ग्वँगलाई रथारोहण गरी प्रभातफेरीसहित नगर परिक्रमा गराएको थियो । कार्यक्रममा प्रम कोइरालाले नयाँ बन्ने संविधानले सबै भाषी, जाति र संस्कृतिको एकता गर्ने दाबी गरे । उनले भानुभक्तले नेपाली समाजको एकताका लागि गरेको योगदानको कदरस्वरूप भानु प्रतिष्ठानले माग गर्दै आएको प्रतिष्ठानको भवन निर्माणका लागि एक रोपनी जग्गा उपलब्ध गराउन आफ्नातर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिष्ठानका अध्यक्ष प्राडा व्रतराज आचार्यले नेपाली समाजको एकताका लागि महत्वपूर्ण योगदान पु¥याएका भानुभक्तको योगदानलाई चिरस्थायी बनाउन देश तथा विदेशका विभिन्न स्थानमा भानुभक्तको सालिक निर्माण गर्ने कार्य अघि बढेको बताए ।
यस्तै, भानु जयन्तीका अवसरमा राष्ट्रकवि माधव घिमिरेले राजधानीको शान्तिनगरस्थित बानेश्वर क्याम्पस प्रांगणमा आदिकवि भानुभक्त आचार्यको शालिकको शिलान्यास गरेका छन् । भानु जयन्तीका अवसरमा क्याम्पस परिसरमा आयोजित कार्यक्रममा राष्ट्रकवि घिमिरेले क्याम्पस परिसरमा भानुभक्तको शालिकले विद्यार्थीलाई सिर्जनात्मक बन्न र साहित्य संस्कृतिको जगेर्ना गर्न प्रेरित गर्ने बताए । क्याम्पस प्रमुख रमेश कोइरालाले आदिकवि भानुभक्तको अर्धकदको शालिक निर्माण गरिने जानकारी दिन उक्त काम दुई महिनाभित्र पूरा गर्ने जानकारी दिए । (सौस)
प्रतिक्रिया