काठमाडौं । अमेरिकामा स्थायी रूपले बसोबास गर्दै आएका र अध्ययनका लागि त्यहाँ पुगेका नेपाली युवतीहरूमा लक्षित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल युएस २०१५’को नयाँ संस्करणका लागि आवेदन फाराम आह्वान गरिएको छ ।
नेपालस्थित ई प्लानेट प्रालि र अमेरिकास्थित इभेन्ट प्लानेट इन्कको आयोजनामा गएको चार वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको प्रतियोगितामा १९ देखि २९ वर्ष उमेर समूहका युवतीहरूको सहभागिता रहनेछ ।
इ प्लानेट प्रालिका अध्यक्ष सन्तोष सापकोटाका अनुसार सामाजिक सांस्कृतिक सचेतता र सद्भाव प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिताले यसपटक नेपालमा हालै आएको विनाशकारी भूकम्पपछिको असहज परिस्थितिलाई मनन गर्दै ‘रिबिल्डिङ नेपाल’ को नारालाई अघि सारेको छ । ‘ यो कार्यक्रममा भूकम्पपीडित नेपालीहरूलाई राहत र पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यमा जोड दिइनेछ,’ सापकोटाले भने, ‘साथै अमेरिकास्थित नेपाली तथा अमेरिकी युवाहरूबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने सेतुका रूपमा यो प्रतियोगितालाई अगाडि बढाउने उद्देश्यसमेत लिइएको छ ।’
आगामी अगस्ट २० देखि २२ तारिखमा अमेरिकाको न्युयोर्कमा पाँचौँ संस्करणको प्रतियोगितामा सहभागिताका लागि भने यही जुलाई २६ तारिखसम्ममा आवेदन फाराम भरिसक्नुपर्ने आयोजकले प्रावधान राखेका छन् । ‘भूकम्पपीडित नेपालीहरूको सहयोगार्थ कार्यक्रम भएकाले प्रतियोगिलाई निःशुल्क सहभागी गराइनेछ,’ सापकोटाले प्रस्ट्याए, ‘प्रतियोगिताका हरेक सहभागीले आफ्नो व्यक्तिगत पहलमा राहत संकलन गर्नुपर्नेछ ।’
प्रतियोगितामा शीर्ष उपाधि विजेताले ‘मिस नेपाल युएस एम्बेसडर’ अवार्डसँगै १० हजार अमेरिकी डलरसम्मको पुरस्कार प्राप्त गर्नेछिन् । यसपटकको प्रतियोगिता मूलतः च्यारिटी, राहत संकलन, त्यसको पारदर्शिता र विश्वसनीयता प्रधान रहने भएकाले प्रतियोगिताले युनिसेफ अमेरिकी फन्ड तथा नेपाल सरकारको प्रधानमन्त्री राहत कोषसँग सहकार्य गर्नेछ ।
फाइनल प्रतियोगिताको सञ्चालन चर्चित अमेरिकी सञ्चार व्यक्तित्व किरण क्षेत्रीले गर्नेछिन् भने प्रधानमन्त्री राहत कोषका सद्भावना दूतसमेत रहेकी नेपाली बलिउड अभिनेत्री मनीषा कोइरालाको उपस्थिति रहनेछ । प्रतियोगिताको कोरियोग्राफी नेपाली मुलकी बलिउड कोरियोग्राफर मोना हजारिकाले गर्नेछिन् । मोनाले १९९८ मा भारतको ग्वालिएरमा सम्पन्न मिस युनिभर्सिटिको उपाधि जितेकी थिइन् भने त्यसताका थुप्रै मोडलिङ प्रोजेक्टमा उनले अनुभव लिइसकेकी छन् ।
पाँचौँ संस्करणको ‘मिस नेपाल युएस’को विजेता खोजीका लागि आयोजकले निर्माता÷निर्देशक सुरज सुव्बा नाल्बोलाई क्षेत्रीय निर्देशकका रूपमा नियुक्त गरेको छ । यसअघि मिस नेपाल युएसएका रूपमा सुजिता बस्नेत, आस्था श्रेष्ठ, वर्तिका राई र खुस्बु मिश्र विजेता बनिसकेका छन् ।
प्रतिक्रिया