काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठानको १६औँ वार्षिकोत्सवको अवसर पारेर प्रतिष्ठानले सम्मान र पुस्तक विमोचन कार्यक्रम गरेको छ । वरिष्ठ साहित्यकार प्राध्यापक डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रा. आनन्ददेव भट्ट र प्रेम छोटालाई ‘दायित्व वांमय विशिष्ट सम्मान’ र शेषराज शिवाकोटीलाई ‘दायित्व वाङ्मय सम्मान’बाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा ‘दायित्व’ पत्रिकामा वर्षभरिमा प्रकाशित रचनामध्ये उत्कृष्ट रचनालाई दिइने १० हजार रुपैयाँ राशीको ‘हरिकला–गुणाकर दायित्व रचना पुरस्कार’ यस वर्ष विद्याप्रसाद घिमिरेको ‘बेइमानी र बेइमानहरू’ नामक निबन्धलाई दिइयो ।
प्रा. गोपीकृष्ण शर्माको सभापतित्वमा भएको कार्यक्रममा सुब सेनद्वारा लिखित कथासंग्रह ‘माटो मायाको परिभाषा’, कलाधर काफ्लेद्वारा लिखित लघुकथासंग्रह ‘उपहार’, रवीन्द्र आशिष शैलीद्वारा लिखित गीतिसंग्रह ‘शैलीका गीतहरू’ र रामप्रसाद पन्तद्वारा लिखित नियात्रासंग्रह ‘अविरल यात्रा’ सार्वजनिक गरिएको थियो ।
कृतिका बारेमा डा. रामप्रसाद ज्ञवाली र प्रा. साधना प्रतीक्षाले समीक्षा गरेको कार्यक्रममा साहित्यकार रामप्रसाद दाहालले सम्मानित व्यक्तित्वहरूको परिचय दिएका थिए । (सौस)
प्रतिक्रिया