बृद्ध, वालक के जवान सब जो पुग्छन्, तिमीको घर
के दिन्छौ र तिमी भुलेर दुनियाँ बस्छन् त्यतानै तिर
सेतो रङ्को ठूलो हलभित्र, सेता र पहेँला कुर्सिहरू लहरै मिलाइएको छ । ती कुर्सीभरि बसेका विद्यार्थी, युवाहरु अनि उमेर ढल्केका अधबैँसेहरू र केही स्थापित कविकवयत्रिहरू छन् । ती सबैका अग्र भागको बायाँ कुनामा आदिकवि भानुभक्तको तस्विरमा माला लगाइएको छ ।
दियो बालिएको अनि बायाँ भागमा रहेको च्याम्बरबाट मृत्यु शीर्षकमा रहेको आफ्नो कविता वाचन गर्दैथिए कवि टीकाराम दुलाल ।
पूरानो वानेश्वरको कात्तायनी चोकमा रहेको आनन्द इभेन्ट म्यानेजमेन्ट मिटिङ प्रा. लि. को हलमा यहि असार २५ गते भएको कविता प्रतियोगितामा यी र यस्तै रचना सुनाइए ।
आदिकवि भानुभक्त आचार्यको २०१औँ जन्मजयन्तिको अवसरमा रत्न पुस्तकालयले कविता प्रतियोगिता आयोजना गरेको हो ।
२०१९ सालमा स्थापित भएको उक्त पुस्तकालयले मोतिजयन्ति, भानुजयन्ति, लक्ष्मीजयन्ति आदिका अवसरमा विभिन्न कार्यक्रमहरू निरन्तर गर्दै आएको छ ।
‘सदाका वर्षहरूझैँ यसपालि पनि हामीले भानुजयन्तिको अवसर पारेर कविता प्रतियोगिता राखेका हौँ’, रत्न पुस्तकालयका अध्यक्ष शशिबिक्रम राणा भन्छन, ‘यस्ता कार्यक्रमहरूले नयाँ र प्रतिभाशाली कविहरूलाई आफ्नो कविता वाचन गर्ने प्रतिस्पर्धामा खरो उत्रने वातावरण निर्माण गर्छ ।’
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरे प्रमुख अतिथि रहेको कार्यक्रममा कवयत्रि भुवन थापाले स्वागत मन्तव्य राखेकी थिइन् । प्रतियोगी कविता निर्णय गर्न डा. लक्ष्मण गौतम, सन्ध्या पहाडी र रत्नमणि नेपालसमेत तीन जनाको निर्णायक मण्डल रहेको थियो । ६७ जना कवि तथा कवयत्रीहरूले प्रतियोगितामा भाग लिन नाम दर्ता गरेका थिए । तर प्रतियोगितामा पचपन्न जना प्रतियोगीहरू उपस्थित रहेका थिए । एकबजे सुरू हुने भनिएको कार्यक्रम निक्कैपछि सुरु हुन सक्यो ।
कार्यक्रममा गद्य र पद्य दुवै शैलिमा रचना गरिएका कवितामा भूकम्प, राजनीति, भानुभक्तको सम्झना र देशप्रेमका विषयमा कविता वाचन गरे ।
कसैका कवितामा जुरुकजुरुक उचाल्ने खालका जोश र जाँगर भेटिन्थे । कसैका कविताले भित्री मन चसक्क दुखाउँथ्यो ।
प्रतियोगिताको नतिजा सुनाउने क्रममा डा. गौतमले भने, ‘कुनै कुनै रचना यस्ता थिए जसलाई मूल्यांकन गर्न निक्कै गाह्रो भयो ।’ राम्रा राम्रा रचना भएका र निर्णय गर्न गाह्रो भएको बताउँदै उनले निर्णय सुनाउन सुरू गरे ।
प्रतियोगितामा इशा वस्नेतको ‘आमाको सपना’, कल्पना काफ्लेको ‘देश कामेको बेला’ र सुशीला खड्काको ‘पहिरोले पुरेको घाम’ नामक तीन वटा कविताले सान्त्वना स्थान हासिल गरे ।
‘कल्पनाको भूमिमा आशाको गीत’ कविताकी रचयिता मेनका पोखरेल ले तृतीय स्थान हासिल गरिन् । ‘जखम पछि जागेको मन’ का कवि सोँझो गाउँलेले द्वितीय र ‘चमत्कार’का कवि सुदेश सत्याल प्रथम भए ।
विजयी प्रतियोगीहरूलाई सान्त्वना स्वरुप एक एक हजार र प्रमाणपत्र, तृतीयलाई दुई हजार र प्रमाणपत्र, द्वितीयलाई तीन हजार र प्रमाणपत्र साथै प्रथम लाई पाँच हजार र प्रमाणपत्र प्रमुख अतिथिको हातबाट बितरण गरिएको थियो ।
विजयी अनुहारहरू पुरस्कार ग्रहणपछि निक्कै उत्साहित देखिन्थे ।
प्रतिक्रिया