ओखलढुंगा, २६ असार । ओखलढुंगाका भूकम्प प्रभावित गाविसका बालबालिकामा कुपोषणको दर बढेको छ । पोषण सप्ताहको अवसरमा जिल्लाभरका सबै ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकामा गरिएको परीक्षण प्रतिवेदनले कुपोषणको दर बढेको देखिएको हो ।
भूकम्पबाट बढी प्रभावित १६ गाविसमा पहिलो चरणमा गरिएको बालबालिकाको पोषण परीक्षणमा दुई बालबालिका कुपोषित भेटिएको र ४० बालबालिका कुपोषणको खतरामा रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।
जिल्लाका सबै गाविसमा कार्यक्रम लागू भए पनि पहिलो चरणमा १६ गाविसको तथ्यांक आएको उनले जनाए । भूकम्पपछि पाँच वर्ष मुनिका बालबालिकाहरूको पोषणका लागि युनिसेफको सहयोगमा पोषण अवस्था परीक्षण गरिएको छ । पोषणको अवस्था बुझ्न बालबालिकाको पाखुरा नाप्ने र जाँचेर परीक्षण गरिएको थियो । चार हजार एक सय ६८ बालबालिकामध्ये तीन हजार नौ सय ९५ बालबालिकाको पोषण परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । विभिन्न कारणले एक सय ७३ जना परीक्षणबाट छुटेका छन् ।
परीक्षणपश्चात बालबालिकालाई पोषणयुक्त ‘बालभिटा’ वितरण गरिएको छ । कुपोषित बालबालिकाको हकमा आवश्यक भिटामिन र पोषणतत्व प्रदान गरी नियमित परीक्षण गरिनेछ । परीक्षण गरिएका मध्ये एक हजार नौ सय ४७ बालक छन् भने एक हजार नौ सय ६७ बालिका रहेका छन् ।
प्रतिक्रिया