कराँची । पाकिस्तानकी चर्चित गायिका कोमल रिज्वीले सामाजिक अभियन्ता अब्दुल सट्टारसँग अस्पतालमा सेल्फी तस्बिर खिच्दै फेसबुकमा पोस्ट गरेपछि उनी विवादमा तानिएकी छन् । अस्वस्थ्य भएर अस्पतालमा भर्ना भएका अब्दुललाई भेटन अस्पताल पुगेकी उनले अस्पतालको बेडमै सेल्फी फोटो खिचेर फेसबुकमा पोस्ट गरेकी थिइन् । बेडमै सुतिरहेका अब्दुल केही खुसी देखिए पनि कोमलचाहिँ निकै खुसी देखिइन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो तस्बिर सार्वजनिक हुनुअघि रिज्वी स्वच्छ छविकी गायिकाका रूपमा पाकिस्तानमा परिचित थिइन् । उनी रमजानको समयमा च्यारटी कामका लागि सबैभन्दा अग्रस्थानमा रहन्थिन् । तर, बिरामी अब्दुलसँग सेल्फी तस्बिर लिएर सामाजिक सञ्जालमा छाएपछि उनको विरोधको काम सुरु भएको हो ।
‘उहाँले सबै जीवन पूर्ण निष्ठाबाट निस्वार्थ कार्य र च्यारिटीको कामका लागि खर्च गर्नुभयो, यो कार्यका लागि म निशब्द छु,’ तस्बिरको क्याप्सनमा रिज्वीले लेखेकी छिन्, ‘पाकिस्तानको महान व्यक्तिसँग मिल्नु मेरो सौभाग्यको कुुरा हो, यो यादगार समयलाई कहिल्यै पनि भुल्दिनँ ।’ उनको ट्वीटरका फलोअर्सले बिरामी अवस्थाका अब्दुलसँग तस्बिर खिचाएर सामाजिक सञ्जालमा राख्नु तस्बिरको दुरुपयोग भनी आलोचना गरेका छन् ।
एक ट्विटर फलोअर्सले अब्दुलको स्वास्थ्यका लागि भगवानसँग प्रार्थना गर्नुको सट्टा सेल्फी फोटो सामाजिक सञ्जालमा हाल्नु दुःखद भएको भन्दै आलोचना गरेका छन् । ती फलोअर्सको जवाफ दिँदै रिजवीले अन्य ट्वीट गर्नुभन्दा अघि म यो कुरा बताउन चाहन्छु कि जो व्यक्ति अस्पतालमा थिए, उनी ठीक थिए र सेल्फी लिएको बखत पनि उनी खुसी थिए । हामी हँसीमजाक गरिरहेका थियौँ’ भन्दै प्रतिउत्तर ट्विटेकी थिइन् । (एजेन्सी)
प्रतिक्रिया