काठमाडौं । फिल्म ‘६ एकान ६’बाट फिल्म क्षेत्रमा निर्माताका रूपमा डेब्यु गरेकी हास्य कलाकार दीपाश्री निरौला अब दर्शकमाझ निर्देशकका रूपमा आउने भएकी छन् । चर्चित हास्य टेलिश्रृंखला ‘तीतो सत्य’की कलाकार दीपाश्रीले श्रृंखलाकै सहकर्मी दीपकराज गिरीले निर्माण गर्न लागेको नयाँ फिल्म ‘छ भने माया छपक्कै लाइदेउ’को एक्सन कट गर्ने भएकी हुन् ।
‘हामीले बनाएको फिल्म पूर्णतया कमेडी बेसको हुनेछ,’ दीपाश्रीले भनिन्, ‘एउटा कलाकार भएर काम गरिरहँदा मलाई दीपकजीको टिमले निर्देशकको ठूलो जिम्मेवारी दिएको छ, म पूर्ण आशावादी छु कि हाम्रो टिम राम्रो भएकाले फिल्म पनि राम्रो बन्नेछ ।’
तिहारपछि सुटिङका लागि फ्लोरमा जाने फिल्मका लागि सबै तयारी युद्धस्तरमा भइरहेको दीपाले जानकारी दिइन् । ‘फिल्मको स्क्रिप्ट दीपकजीले लेखिरहनु भएको छ, त्यसकारण स्क्रिप्ट तयार भएपछि त्यसलाई न्याय दिन सक्ने कलाकारको चयन गर्नेछौँ ।’ दीपाश्रीले खुलाइन् ।
०४८ सालदेखि दीपाश्री अभिनयमा सक्रिय छिन् । फिल्म ‘नासो’बाट फिल्ममा डेब्यु गरे पनि उनी फिल्म ‘गाउँले’बाट आम दर्शकमाझ चिनिइन् । यो फिल्मको हिट गीत ‘गोली सिसाको’मा अभिनेता राजेश हमालसँग नृत्य गरेकी दीपाश्रीलाई यसै गीतले दर्शकमाझ चर्चित बनाएको थियो ।
दीपाश्रीले ‘सुकुम्बासी’, ‘चमत्कार’, ‘चाँदनी’लगायत गरी करिब दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छन् । ‘फिल्ममा कलाकार भएर काम गर्दा पनि निर्देशकको कामलाई नजिकबाट नियाल्ने अवसर पाइन्छ,’ उनले भनिन्, ‘त्यसकारणले पनि फिल्म निर्देशन गर्दा अप्ठ्यारो होला भन्ने लागेको छैन ।’ दीपाश्री र दीपकसहित निर्मल शर्माले बनाएको फिल्म ‘वडा नम्बर ६’ असोज १ गतेबाट प्रदर्शनमा आउँदै छ । (सौस)
प्रतिक्रिया