मुम्बई । बलिउडका चकलेटी अभिनेता साहिद कपुरले मीरा राजपुतसँग विवाह गरेका छन् । उनीहरूको विवाहलाई बलिउडको सर्वाधिक प्रतिक्षित विवाहका रूपमा हेरिएको थियो । उनीहरूले मंगलबार राजधानी नयाँदिल्लीमा एक समारोहमाझ विवाह गरेका हुन् । ३५ वर्षे साहिद र २१ वर्षीया मिराले यो विवाहलाई सामान्य रूपमा गर्ने इच्छा गरेपछि विवाह समारोहमा उनीहरूनिकट परिवार तथा नजिकका साथीभाइ मात्र थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार विवाहमा टाढाका इष्टमित्र र बलिउडका स्टारहरूलाई पनि आमन्त्रण गरिएको थिएन । विवाहका लागि शाहिदका पिता पंकज कपुर, आमा सुप्रिया पाठक र छोरा रुहान आइतबारै दिल्ली पुगेका थिए । उनीहरूको विवाहमा शाहिद–मीराका परिवार, उनीहरू दुवैका परिवारको नजिकका इष्टमित्र र धार्मिक समुदाय राधास्वामी सत्संगसँग जोडिएका केही व्यक्ति मात्र उपस्थित थिए ।
पञ्जावी शैलीमा गरिएको विवाहमा शाहिदले डिजाइनर साथी कुनाल रावलले तयार पारेको आदिवासी शैलीको पहिरन लगाएका थिए । मीराले चाहिँ अनामिका खन्नाले डिजाइन गरेको पहिरन लगाएकी थिइन् । शाहिदले विवाहको दिन नजिकिएपछि ‘झलक दिखाला जा’ शोको काम सकेका थिए ।
विवाहको अघिल्लो दिन आयोजित संगीत पार्टीमा शाहिद हुनेवाला श्रीमती मीरासँग नाँचेका थिए । दिल्लीको छतरपुर इलाकामा आयोजित पार्टीमा शाहिदले रातो रङको नेहरू कुर्ता लगाएका थिए भने मीराले कागती रङको लेहंगा र चोली लगाएकी थिइन् ।
पार्टीमा शाहिदले मीरासँग ‘मौजा ही मौजा’, ‘साडी के फाल सा’ र ‘तु मेरे अगल बगल’ जस्ता गीतमा नृत्य गरेका थिए । समाचारअनुसार शाहिदको विवाहमा ५० भन्दा बढी प्रकारका पान तयार पारिएको थियो । यो विवाहमा आउने पाहुनाको संख्यालाई ध्यान राख्दै सात सय खजुर पानको अर्डर गरिएको थियो ।
विवाहका लागि दिल्लीस्थित गुडगाउँमा रहेको ट्राइडेन्ट होटलका ५० कोठा बुक गरिएको थियो । विवाहमा करिब पाँच सय अतिथिलाई आमन्त्रण गरिएको थियो । शाहिदका परिवारका अनुसार १२ तारिखमा मुम्बईमा रिसेप्सन पार्टी हुनेछ, जहाँ बलिउडका स्टारहरूलाई आमन्त्रण गरिनेछ । (एजेन्सी)
प्रतिक्रिया