मन्त्रीलाई कलाकर्मीको ज्ञापन

Minendra_Rijal_Nepali_Congrकाठमाडौं । सरकारले स्वीकृत गरेको ‘राष्ट्रिय चलचित्र नीति–२०७०’ विपरीत चलचित्र विकास बोर्डले चलचित्र निर्माण निर्देशन मापदण्ड ल्याएको विरोधमा ७५ जना कलाकर्मी चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।
बोर्डले जारी गरेको चलचित्र निर्माण निर्देशन मापदण्ड नेपालको अन्तरिम संविधान–२०६३ र लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको भन्दै फिल्मकर्मीले सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाललाई सोमबार ज्ञापनपत्र बुझाएका हुन् ।
फिल्मकर्मी तथा साहित्य कलाका विभिन्न विधामा क्रियाशील ७५ जनाको हस्ताक्षर रहेको ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले सिर्जनात्मक कामलाई रोक्न नहुने बताए । ‘सिर्जनात्मक कामलाई नरोकी चटपटे बनाएजस्तो जे पनि चलचित्रमा राख्ने कामलाई रोक्न जरुरी छ,’ उनले भने, ‘चलचित्र क्षेत्रमा भएका समस्या ठीकसँग समाधान गरिनुपर्ने पक्षमा मन्त्रालय छ ।’ चलचित्र क्षेत्रलाई गुणात्मक बनाउन तालिम केन्द्रको स्थापना गरिनुपर्नेमा पनि मन्त्री रिजालले जोड दिए ।
‘बोर्डमा फिल्म क्षेत्रबाट जम्मा भएको पैसा यो क्षेत्रको गुणात्मक विकास गर्न तालिम केन्द्र स्थापनाका लागि लगानी गरिनुपर्छ,’ मन्त्री रिजालले भने, ‘यसका लागि दुई÷तीनवटा तालिम कार्यक्रम अविलम्ब सञ्चालन गर्न जरुरी छ ।’
ज्ञापनपत्र बुझाउँदै गैरआख्यान चलचित्र निर्देशक अनुप सुवेदी, निर्माता÷निर्देशक निश्चल बस्नेत, निर्देशक विनोद पौडेल, अभिनेत्री ऋचा शर्मा र निर्माता प्रचण्डमान श्रेष्ठलगायतका कलाकर्मीले निरंकुश रूपमा आएको मापदण्ड सात दिनभित्र खारेज नगरिए कडा आन्दोलनमा उत्रन बाध्य हुने बताएका थिए । (सौस)

प्रतिक्रिया