प्रसूतिका बिरामी बढेपछि व्यवस्थापनमा कठिनाइ

चितवन, २१ असार । भरतपुर अस्पतालमा स्त्री तथा प्रसूति रोगको उपचार गर्न आउनेको सङ्ख्या बढेपछि व्यवस्थापनमा कठिनाइ भएको छ ।

अन्य उपचारमा धनी र समाजका प्रतिष्ठित व्यक्तिले निजी अस्पताल रोज्ने गरेपनि प्रसूति रोगको उपचारका लागि भने सबैको आकर्षण सरकारी भरतपुर अस्पताल बनेको छ ।

बर्सेनि १० हजारभन्दा बढी प्रसूतिको उपचार गर्दै आएको भरतपुर अस्पतालमा दैनिक आठ देखि १० वटा आकस्मिक शल्यक्रिया गरी बच्चा झिकिँदै आएको छ ।

स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोखरेल हप्तामा दुई दिन मङ्गलबार र शुक्रबार तोकेर गरिने शल्यक्रियामा एक दिनमा १८ जनाको हाराहारीमा शल्यक्रिया हुने गरेको बताउँछन् ।

नेपाल सरकारको ३०० श्यया र अस्पताल विकास समितिको १३५ गरी ४३५ श्यया सञ्चालन हुँदै आएको यो अस्पतालमा १०० श्यया प्रसूतिका लागि छुट्याइएको छ ।

सधैजसो भुईंमा बिरामी राख्नुपर्ने बाध्यता रहिआएको छ । ‘आज १२० जना बिरामी छन्, हामीसँग १०० वटा श्यया मात्रै छन्, सधैँजसो यो समस्या आउँछ’, डा पोखरेलले भने ।

चौबीसै घन्टा आकस्मिक शल्यक्रिया गरी बच्चा झिक्ने काम अस्पतालले गर्दै आएको छ ।

मङ्गलबार र शुक्रबार भने बच्चा उल्टो, तेर्सा भएका, नबढेका, आमाको आङ खसेका, पाठेघरमा ट्युमर पलाएका, पानीको फोका देखिएका, ओभ्यारीमा ट्युमर पलाएका बिरामीको शल्यक्रिया गरिन्छ ।

सामान्यतया १६ वर्षदेखि ३५ वर्षसम्मका महिलाको शल्यक्रिया गरी बच्चा झिकिन्छ भने ४० वर्षभन्दा माथिका महिलाको पाठेघर खसेको शल्यक्रिया गर्ने गरिएको छ ।

अस्पताल सुत्केरी हुन आउने महिलामध्ये २५ प्रतिशतको शल्यक्रिया र अन्यको सामान्य प्रसूति गराइँदै आएको डा पोखरेलले बताए । भरतपुर अस्पतालमा दैनिक ४० जनाको हाराहारीमा शिशु जन्मने गर्दछन् ।

काठमाडौंको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूतिको उपचार भरतपुर अस्पतालमा हुने पोखरेलको दाबी छ ।

वार्षिकरुपमा झन्डै २० हजार उपचार गर्ने प्रसूतिगृहमा ६० जनाको हाराहारीमा चिकित्सक र त्यही तुलनामा नर्सिङ स्टाफ हुने गरे पनि भरतपुर अस्पतालमा भने छ जना चिकित्सक र ३० जना नर्सिङ स्टाफ मात्रै छन् ।

प्रतिक्रिया