‘खै, मैले त अस्पतालमै खाने गरेको छु’

shyam-bhattarai-smokingकाठमाडौं, १९ असार । सुर्तीजन्य पदार्थ नियन्त्रण, नियमन गर्न बनेको ऐन लागू भएको चार वर्ष बितिसक्दासमेत त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा मानिसहरू अहिले पनि विद्यालय, अस्पताल, क्याम्पस, होटल, मठमन्दिर र पाटीपौवालगायत सार्वजनिक स्थलमा खुला रूपमा चुरोट, बिँडी, खैनी, सुर्ती र तमाखुलगायत सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइन्छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन, २०६८ मा निजी वा सरकारी कुनै पनि सार्वजनिक स्थलमा धूमपान गरेको खण्डमा १०० जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी विद्यालय र अस्पताललगायतका सार्वजनिकस्थल वरिपरि १०० मिभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने व्यवस्था गरिएको छ तर विद्यालय वा अस्पताल हाताभित्रै ती सुर्तीजन्य पदार्थ बिक्रीवितरण हुँदासमेत सम्बन्धित निकायले कुनै कारबाही गर्न सकेको छैन ।

गर्भवती र बालबालिकालाई चुरोट बेच्न नपाउने, चुरोट खिल्लीको हिसाबले नभई बट्टा नै बेच्नुपर्ने ऐनमा व्यवस्था गरिएको छ ।

वीर अस्पताल हाताभित्र चुरोट सेवन गरिरहेका अर्घाखाँचीका नारायण पनेरुले भने, ‘खै, मैले त अस्पताल न विद्यालय सबै ठाउँमा चुरोट खाने गरेको छु, जहाँ पनि चुरोट खाने बानी परिसक्यो, अहिलेसम्म कसैले केही कारबाही गरेको छैन ।’

उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव बाबुराम हुमागाईंले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई कारबाही नभएको अवस्थामा ऐन कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताए ।

हुमागाईंका अनुसार ऐनमा सुर्तीजन्य पदार्थको बाहिरी खोलमा ९० प्रतिशत क्यान्सरसम्बन्धी तस्बिर राख्नुपर्ने व्यवस्था भए पनि व्यवहारमा त्यसो हुन सकेको छैन ।

नेपालमा ९० प्रतिशत अर्बुदरोग सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको ।

मुटु रोगको प्रमुख कारण सुर्तीजन्य पदार्थ हुने गरेको छ । सुर्तीजन्य पदार्थका कारण नेपालमा प्रत्येक दिन ४२ मानिसको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ ।

साथीहरूको लहलहैमा लागेर युवा पुस्ता सामान्य सुर्तीजन्य पदार्थको सेवन गर्दै कालान्तरमा लागुऔषधको सेवनमा लाग्ने गरेको देखिन्छ ।

काउन्सिलले लामो समयदेखि जनचेतनामार्फत सुर्तीजन्य पदार्थ रोकथाममा पहल गर्दै आएको छ ।

प्रहरी नायब महानिरीक्षक तथा ट्राफिक महाशाखा प्रमुख जयबहादुर चन्दले सुर्तीजन्य पदार्थ सेवनलाई पूर्ण रूपमा नियन्त्रण गर्न सरकारले ऐन मात्र बनाएर नहुँने बताए । उनले सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कारखाना नै बन्द गर्नुपर्ने बताए ।

मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले भने, ‘कुनै पनि रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग नलाग्दै सचेत हुन जरुरी छ, त्यसैले सुर्तीजन्य पदार्थ सेवनलाई रोक्न सरोकार राख्ने विभिन्न सङ्घसंस्थाको सहकार्यमा सरकारले देशव्यापी रूपमा जनचेतनामूलक अभियान नै सञ्चालन गर्नुपर्ने हुन्छ ।’

नेपालमा ३८ प्रतिशतभन्दा बढी मानिसले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइन्छ । समाजसेवी थापाका अनुसार एक मानिसले सेवन गरेको चुरोटका कारण नौ जनासम्मलाई असर गर्छ । (फाइल तस्बिर)

प्रतिक्रिया