ओखलढुंगा । ओखलढुंगाका भूकम्पपीडितलाई परिचय पत्र प्राप्तिका लागि आमा समूह सञ्जालले सहजीकरण गर्ने भएको छ । सपोर्ट नेपालको सहयोगमा जिल्लाका विभिन्न पाँच गाविसलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको सञ्जालले वास्तविक भूकम्पपीडितले राज्यबाट पाउने राहत सुविधा र परिचय पत्र प्राप्तिका लागि सहजीकरण गर्ने भएको हो ।
भूकम्पले पारेको असर राहत उद्धार तथा पुनर्वासको व्यवस्था र भूकम्पपीडित परिचय पत्र प्राप्ति विषयक जिल्लास्थित समन्वय समितिको बैठकमा सञ्जालकी अध्यक्ष कान्तिराज भण्डारीले जानकारी दिइन् । अल्पसंख्यक समुदायलाई प्राथमिकतामा राखेर कार्यक्षेत्रभित्र पर्ने गाविसमा सहजीकरण गरिने राज भण्डारीले बताइन् ।
सञ्जालले लामो समयदेखि जिल्लाको टोक्सेल, भदौरे, पलापु, बिलन्दु र सिंहदेवी गरी पाँच गाविसका माझी, बादीलगायत अल्पसंख्यक समुदायलाई आवश्यकताका आधारमा विभिन्न प्रकारको कार्यक्रम सञ्चालन गर्दै आएको छ । भूकम्पपीडितलाई परिचय पत्र र राहत तथा पुनर्वासका लागि राज्यले काम गरिरहेको भए पनि ती कामहरूलाई थप व्यवस्थित बनाउन आमा समूह सञ्जालको महत्वपूर्ण भूमिका रहने सिडिओ यादव सुवेदीले बताए ।
सपोर्ट नेपालको सहयोगमा आमा समूह सञ्जालले अल्पसंख्यक समुदायको क्षेत्रमा काम गरिरहेकाले भूकम्पले त्यस्ता समुदायमा गरेको क्षतिको विवरण संकलन गरी परिचयपत्र वितरणमा सहजीकरण गरिदिन आमा समूहलाई सरोकारवालाहरूले आग्रह गरेका थिए ।(सौस)
प्रतिक्रिया