जहाँ पानी पर्नासाथ स्थानीयबासी अनिदै हुन्छन्

Solukhumbuसोलुखुम्बु, १८ असार । पानी पर्नासाथ सोलुखुम्बु जिल्लाका ३७ वटा बस्तीका झण्डै एक हजार ७ सय ५० घरधुरीका बासिन्दा समस्यामा परेका छन् ।

ती बस्तीका बासिन्दा पानी पर्नासाथ पहिरोको त्रासले रातभर सुत्न पाउँदैेनन् ।

प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालका अनुसार जिल्लाका ३७ वटा बस्तीमा रहेका एक हजार ७ सय ५० घरधुरी र त्यहाँ बस्ने आठ हजार ४ सय ६८ जना यस्तै समस्यामा रहेका छन् ।

‘अलि ठूलो पानी पर्नासाथ रातभर जाग्राम बस्नुपर्छ’, चौलाखर्क–३ का रुद्र खत्रीले भने, ‘भूकम्पपछि घरमाथिको पाखो चिरिएको छ । कुनबेला पाखो सबै बगेर लिखु नदीमा मिसिन्छ भन्ने त्रासले त्यहाँ ३३ घरधुरी रातभर नसुतेको महिनौं भयो ।’

अझ अलि ठूलो पानी परेपछि त छिमेकी जम्मा भएर ईश्वर पुकार्दै बस्ने गरेको स्थानीय जनक बस्नेत बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी ढकालले जोखिममा परेका ती बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न पहल गरिरहेको बताए ।

प्रतिक्रिया