अमेरिकामा श्यामको एक्सन कट

Shyam-Bhattaraiकाठमाडौं । केही महिनाअघि अमेरिका पुगेका निर्देशक श्याम भट्टराईले त्यहीँ फिल्म निर्देशन गर्ने भएका छन् । अमेरिकामा बस्दै आएका गैरआवासीय नेपालीको कथा र व्यथालाई फिल्ममा उतार्नेछन् ।
निर्देशक श्यामका अनुसार उनले नेपाल विश्व सहयोग संंघसँगको सहकार्यमा फिल्म बनाउन लागेका हुन् । फिल्ममा अमेरिकाको सनफ्रान्सिस्कोमै बसिरहेका युवा प्रिन्स युवराज कार्की र सुजित सिंहको लगानी रहनेछ । एकताका नेपालमा रहेर फिल्ममा अभिनय कौशलता देखाउँदै अमेरिका छिरेका कलाकारले फिल्ममा अभिनय गर्ने उनले बताए ।
‘नेपालका धेरै स्थापित कलाकार यहाँ हुनुहुन्छ । भूमिकाअनुसार उहाँहरूलाई आबद्ध गराउँछौँ । केही कलाकार भने अडिसनबाट पनि छान्छौँ । यसका लागि अहिले अमेरिकाका विभिन्न राज्यमा अनुसन्धानको काम भइरहेको छ ।’ उनले भने ।
नाम नजुरिसकेको फिल्ममा नेपालीले अमेरिकामा पाएका सफलता र असफलताको कथा प्रस्तुत हुनेछ । ‘फिल्मले अमेरिकामा रहेका नेपालीको जीवनलाई दुरुस्त उतार्नेछ । नेपालीका लागि फिल्म अमेरिका हेर्ने ऐना हुनेछ ।’ श्यामको दाबी थियो । दसैंपछि सुटिङ हुने फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा र अर्जुन पोखरेल संगीत रहनेछ ।
नेपाल टेलिभिजनबाट प्रसारण भएका टेलिसिरियल ‘गहना’, ‘जानकी’, ‘दुई थोपा आँसु’को सफल निर्देशनपश्चात् फिल्म क्षेत्रमा आएका श्यामले ‘मर्यादा’, ‘मौसम’ र ‘लंका’ ‘च्यालेन्ज’ निर्देशन गरिसकेका छन् । पहिलो फिल्म ‘मर्यादा’बाट श्यामले नेफ्टा अवार्डमा उत्कृष्ट फिल्म अवार्ड जित्न सफल भएका थिए । श्यामले भर्जिनियामा लामो समयदेखि बसिरहेका कृष्ण खत्री, मनोज सिंह र यादव पौडेलको लगानीमा बन्ने फिल्मको निर्देशनको तयारी पनि गरिरहेका छन् । (सौस)

प्रतिक्रिया