नमसेवल भन्दै आइन् गायिका रेश्मा

Reshmaकाठमाडौं । चर्चित गीत ‘मै ठूली भइछु रे’बाट उदाएकी गायिका रेश्मा सुनुवारले लामो समयपछिको अन्तरालपछि दोस्रो एल्बम ‘नमसेवल’ लिएर श्रोतामाझ आएकी छन् । राजधानीमा बुधबार आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव गणेश रसिक, फिल्म निर्देशक तथा अभिनेता अनुप बराल, अभिनेत्री दिया मास्के र पत्रकार तथा एल्बमका समीक्षक अशोकप्यासी राईले संयुक्त रूपमा एल्बम सार्वजनिक गरे ।

कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव रसिकले गायिका सुनुवारमा सबै किसिमको गीत गाउन सक्ने क्षमता भएको गायिका पाएको बताए । ‘उहाँको आवाजमा बेग्लै किसिमको चार्म पाएको छु, उनको आवाज पनि राम्रो छ,’ रसिकले पुरानो स्मृति सम्झँदै भने, ‘हाम्रो पालामा अहिलेको जस्तो सुविधा थिएन, रेडियो नेपालमै गएर गीत गाउनुपथ्र्यो, अहिले जताततै स्टुडियो छ, समय डिजिटलाइज भएको छ, अहिलेको पुस्तालाई काम गर्न झन् सजिलो भएको छ ।’
केही समयअघि नयाँ एल्बम ल्याएका रसिकले बजारमा एल्बमको मार्केटिङ गर्न नसक्दा एल्बम कोठामै थन्किएको खुलासा गरे । ‘हजार प्रति एल्बम निकालको थिएँ, सिल्पी थिएटरले एल्बम ल्याइदिएको थियो, उहाँहरू अभिनय गर्ने मान्छे पर्नुभयो, त्यसकारण एल्बमको बजारीकरण हुन सकेन, जसले गर्दा अहिले कोठामा झन्डै ५–६ सय एल्बम थन्किएका छन्,’ रसिक गुनासिए, ‘अहिलेको अवस्थामा गायकगायिकाले बजारको अवस्था पनि बुझ्नु पर्दोरहेछ ।’
एल्बमको समीक्षा गर्दै पत्रकार राईले एल्बम सुन्दा गायिकाको गीतमा नाम जस्तै रेश्मा शैली देखिने भएकोले उनी स्वरको राम्रो खेलाडी रहेको दाबी गरे । यसै एल्बममा रहेको ‘तिमीले हेर्ने’ बोलको गीतबाट म्युजिक भिडियो निर्देशनमा डेब्यु गरेका निर्देशक बरालले आफूलाई अभिनेत्री श्रीमती दियाले म्युजिक भिडियो बनाउन प्रोत्साहन गरेको खुलाए ।
एल्बमको बजार व्यवस्थापक भाइब्ज क्रिएसनका प्रबन्ध निर्देशक परशुराम रिजालले भूकम्प गएपछि पनि एउटा राम्रो एल्बमको बजार व्यवस्थापनको जिम्मा लिन पाउँदा खुसी लागेको बताए । गायिका रेश्माले सुनुवार भाषामा ‘नमसेवल’को अर्थ नमस्कार भएकाले सबैलाई सम्बोधन गर्न एल्बमको नाम राखेको खुलाइन् ।
एल्बममा ‘तिमीलाई हेर्ने’, ‘कोही भन्छ माया’, ‘भन्छन् सबैले’, ‘नाम्चेमा डुल्ने’, ‘एउटा फूल’, ‘बादलबाट’ र ‘मखमली माथ’ बोलका गीत छन् । जसमा कल्याण सिंह, भरत लामा, रोज मोक्तान, शिव मुखिया, बिजु बज्र र रेश्माको संगीत तथा सुशील सापकोटा, भरत लामा, भूपेन्द्र खड्का, रोज मोक्तान, शिव मुखिया, बिजु बज्र र रेश्मा सुनुवारको शब्द छ । (सौस)

प्रतिक्रिया