पाँचथरमा शिक्षक गाईपालनमा

Gai-Palanपाँचथर, १६ असार । रवि–७ हिकुनाम्बका प्रकाशचन्द्र राई लामो शिक्षण पेसाबाट अवकाशपछि व्यवसायिक रूपमा गाई पालेर उदाहरणीय बनेका छन् । हालै शिक्षण पेसाबाट अवकाश पाएका राई अवकाशपछिको जीवन सार्थक बनाउन सामूहिक गाईपालनतर्फ लागेका हुन् । आफ्नै अगुवाइमा ‘जनजागरण कृषि तथा पशु पालन समूह’ बनाएर उनी व्यावसायिक रूपमा सो पेसामा लागेका छन् ।

अवकाशपछि पनि आफ्नै गाउँठाउँमा बसेर राम्रो आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने उनलाई विश्वास छ । यही विश्वासलाई सार्थक बनाउन आफू गाई पालनमा लागेको राई बताउँछन् । अहिले राईकै सक्रियतामा गठित ११ सदस्यीय गाईपालन समूहले चार जर्सी र ४ होलिस्टिन नामका उन्नत जातका आठवटा गाई पाल्न सुरु गरिएको छ ।
यी गाईबाट दैनिक ६० लिटर दुध उत्पादन हुन्छ र प्रतिलिटर ३५ का दरले बिक्री हुँदा दुई हजार रुपैयाँ आम्दानी भइरहेको राई बताउँछन् । निकट भविष्यमा सबै खर्च कटाएर मासिक तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्यका साथ ५० थान गाई पु-याउन लागिरहेको उनले बताए ।
त्यतिका गाईबाट उत्पादन हुने दुधले स्थानीय स्तरमा खुलिरहेका दर्जनौँ डेरी तथा चिज फ्याक्ट्रीहरू फस्टाउनमा ठूलो मद्दत पुग्ने राईले दाबी गरेका छन् । यसबाट ग्रामीण अर्थतन्त्र उक्सिनुका साथै प्रत्यक्ष अप्रत्यक्ष रूपमा सयौँ बेरोजगारका लागि रोजगारीको अवसर पनि खुल्ने देखिएको छ । स्थानीय जडीबुटी बहुउद्देश्यीय सहकारीबाट १० लाख र समूहका सदस्यहरूबाट संकलित ११ लाख रुपैयाँ लगानी गरेर गाईपालन सुरुवात गरेको राईले बताए ।
घाँस उत्पादनका लागि एक सय ३३ रोपनी जग्गासमेत लिजमा लिएर थालिएको सो गाईपालन व्यवसायबाट आसपासका किसान पनि प्रभावित भएको पाइएको छ । यसैको सिको गरेर ओसिलो र पर्याप्त घाँस उत्पादन हुने रवि क्षेत्रका दर्जनौँ किसानले उन्नत जातका गाई पालेर आयआर्जन गर्न थालेको राईले सुनाए ।
त्यसो त आफ्नो प्रयासले सामूहिक रूपमा थालेको गाईपालन व्यवसाय उदाहरणीय लागेर पाँचथर र इलामका विभिन्न ठाउँका किसान अध्ययन अवलोकनका लागि आउने गरेको राईले सुनाए । यसरी आफूले थालेको गाईपालन व्यवसायले विभिन्न ठाउँका किसानलाई यो पेसातर्फ प्रोत्साहित गर्दा आफूलाई गर्व लागेको राई बताउँछन् ।
लामो अनुभव र परिपक्वताको हिसाबले अवकाशपछि कुनै पनि व्यक्ति एउटा योग्य र दक्ष जनशक्तिको रूपमा उत्पादन हुने बताउँदै राईले त्यस्ता व्यक्ति आफू जस्तै समाजिक तथा आर्थिक विकासमा लागे चाँडै देश समृद्ध हुने बताए । हिजो विद्यार्थी पढाउने शिक्षकको रूपमा चिनिएका राई हिजोआज गाईपालन कृषकको रूपमा परिचित हुन पाउँदा दंग परेका छन् ।

प्रतिक्रिया