नेपाल दोस्रो आधिकारिक खेल खेल्दै

काठमाडौं । आइसिसीले टी–ट्वान्टीको आधिकारिक मान्यता दिएपछि नेपालले नेदरल्यान्डविरुद्व दोस्रोपटक चारवटा अभ्यास खेल खेल्दै छ । टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगिता खेल्नुअघि नेदरल्यान्डसँगको चार अभ्यास खेललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)ले मान्यता दिएकाले यसलाई निकै महत्वका साथ हेरिएको छ ।
२४ असारदेखि १० साउनसम्म आयरल्यान्ड र स्कटल्यान्डमा सञ्चलन हुने आइसिसी टी–ट्वान्टी विश्वकप छनोट खेल खेल्नुअघि नेपालले नेदरल्यान्डसँग आइसिसीले मान्यता दिएको चार आधिकारिक खेल खेल्दै छ । नेपालले १५, १६, १७ र १८ असारमा नेदरल्यान्डसँग टी–ट्वान्टी खेल खेल्ने तालिका छ ।
नेपाललाई आइसिसीले टी–ट्वान्टीको मान्यता दिएपछिको यो दोस्रोपटकको आधिकारिक खेल हुनेछ । यसअघि नेपालले श्रीलंकामा हङकङसँग टी–ट्वान्टीको एकमात्र आधिकारिक खेल खलेको थियो ।
यसपटक पनि टी–ट्वान्टी विश्वकपको छनोट हुने लक्ष्यसहित नेपाली क्रिकेट टोली अभ्यास खेल तथा थप तयारीका लागि भारत इंग्ल्यान्ड हुँदै नेदरल्यान्ड पुगेको छ । विश्वकप छनोटको सँघारमा रहेको बेला नेपालले नेदरल्यान्डसँग खेलिने चार खेलले निकै महत्व राखेको छ । विश्वकप छनोटको खेल खेल्नुअघि नेदरल्यान्डसँगको खेलले नेपाली टोलीमा देखिने कमीकमजोरी सुधार्ने मौका पाउने क्रिकेट विश्लेषक विनयराज झाले बताए । ‘यो नेपालको लागि विश्वकप छनोटभन्दा अघिको उपयुक्त समयमा भएको महत्वपूर्ण प्रतियोगिता हो ।’
झाले भने, ‘यसै प्रतियोगिताबाट नेपालले आफ्ना कमीकमजोरीहरु सुधार्दै अघि बढ्ने मौका पाउने भएकाले यसबाट नेपालले फाइदा लिन सक्नुपर्छ ।’
आइसिसीले मान्यता दिएपछि हङकङसँग एकमात्र आधिकारिक खेल खेलेको नेपालले नेदरल्यान्डसँगको खेलमा आइसिसीको ¥याङकिङमा पनि महत्व राख्ने नेपाल क्रिकेट संघ
(क्यान) का कार्यवाहक अध्यक्ष दीपक कोइरालाले बताए । नेदरल्यान्डले सबै आठ प्रतियोगिता खेलिसकेको छ तर नेपालले एकमात्र खेल खेलेको छ ।
नेपालको तयारी राम्रो भएकाले आइसिसीले टी–ट्वान्टीको मान्यता दिएपछि दोस्रोपटक मैदान उत्रन लागेको नेपालले नेदरल्यान्डविरुद्व उत्कृष्ट खेल पस्कन सक्छ । अध्यक्ष कोइरालाले भने । यस्तै, नेपाली टोलीका कप्तान पारस खड्काले विश्वकप छनोटभन्दा अघि हुने नेदरल्यान्डविरुध हुने चार खेलले विश्वकप छनोटका लागि निकै नै महत्वपूर्ण खेल हुने बताए । आइसीसीले नै आधिकारिक मान्यता दिएका कारण यसै खेलबाट हामीले टोलीमा देखिने कमजोरी केलाउने मौका पाउँछौँ । त्यसलाई सुधार्दै छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्नेछौँ ।
भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा नेपाली टोलीले दुई साता लामो अभ्यास गरेको थियो । त्यसपछि नेपाली क्रिकेट विश्वकप छनोट र नेदरल्यान्डसँगको खेल तथा थप अभ्यासका लागि ८ असारमा इंग्ल्यान्ड प्रस्थान गरेको थियो । नेपाली क्रिकेट टोलीले सन् २०१६ मा भारतमा हुने टी–ट्वान्टी विश्वकपका लागि छनोट हुने एक मात्र लक्ष्य राखेको छ । (सौस)

प्रतिक्रिया