काठमाडौं, १४ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्राविधिकतर्फको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । साधारणतर्फ नतिजा प्रकाशनको नौ दिनपछि प्राविधिकतर्फको नतिजा सार्वजनिक गरिएको हो ।
नतिजाअनुसार ए प्लस ग्रेड पाउने विद्यार्थीको संख्या दुई सय १५, ए ग्रेडमा ७ सय ७९, बि ग्रेडमा २ हजार १ सय ३१, सि ग्रेडमा १ सय २४ र डिमा एक उत्तीर्ण भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए ।
९० देखि १०० अंक ल्याउने ए प्लस, ८० देखि ८९ अंक ल्याउने ए, ६०–७९ ल्याउने बि, ४०–५९ ल्याउने सि, २५–३९ अंक ल्याउने डि र २४ भन्दा कम अंक ल्याउनेलाई इ समूहमा राखिने व्यवस्था छ । ग्रेडिङ प्रणालीमा डि र इ ल्याउने विद्यार्थी फेलसरह हुने द्वारेले बताए ।
उनका अनुसार दुईको परीक्षा स्थगित भएको छ भने चारको रद्द गरिएको छ । परीक्षामा ९९ विद्यालयका ३ हजार दुई सय ५६ सहभागी थिए । द्वारेले सि ग्रेड वा सोभन्दा तलको ग्रेड चित्त नबुझ्ने विद्यार्थीले पुनःपरीक्षा दिन पाउने जानकारी दिए ।
‘सि भन्दा तलकाले फेरि परीक्षा दिएर राम्रो नम्बर ल्याउँछु भन्दा परीक्षा दिन पाउने भए’, उनले भने, ‘डि र इका भने फेल भएकाले पुनपरीक्षा दिनुपर्ने छ । उनीहरूको परीक्षा २० साउनबाट हुनेछ ।’
कक्षा नौदेखि प्राविधिक विषय अध्ययन गरेका विद्यार्थीले यस वर्ष पहिलोपटक एक हजार पूर्णांकको परीक्षा दिएका हुन् । विद्यार्थीले प्राप्त गरेको नम्बरका आधारमा ग्रेडिङ छुट्टाइएको छ ।
सरकारले पाइलट प्रोजेक्टका रूपमा प्राविधिक विषयलाई यस वर्षदेखि लेटर ग्रेडिङ सुरुआत गरेको हो । अर्को वर्षदेखि साधारणतर्फका विषयलाई प्राविधिक विषयजस्तै व्यवस्था गर्ने घोषणा गरिसकेको छ ।
परीक्षा नियन्त्रक द्वारेले प्राविधिकतर्फका विद्यार्थीले उच्चशिक्षाका लागि साधारणतर्फकै जस्तै विषय लिन पाउने बताए । ‘उनीहरू साधारणतर्फ जस्तै विज्ञान, व्यवस्थापन विषय पनि लिन पाउँछन्’, उनले भने, ‘होइन भने प्राविधिक विषय कृषि, जेटिए, स्वास्थ्य, खाद्य विषय लिएर पढ्न पाउँछन् ।’
प्रतिक्रिया