रत्न राजमार्ग सुधार्न १२ करोड

Ratna-Rajmarga-Surkhetसुर्खेत, ११ असार । रत्नराज मार्गअन्तर्गत कोहलपुर–वीरेन्द्रनगर सडकको रिसीलिङग र इन्टरमिडेट गर्ने कार्यलाई तीव्रता दिइएको छ । डिभिजन सडक कार्यालय सुर्खेत र बाँकेले छुट्टाछुट्टै १२ करोड लागतमा यो सडक निर्माण कार्य जारी राखेका हुन् ।

वर्षातमा निकै सास्ती खेप्न बाँध्य यात्रुलाई सहजताका लागि सडक कार्यालयले कालोपत्रे उत्रेको ठाउँमा रिसीलिङ्ग, सडकको दुवैतर्फ कालोपत्रे, ग्याबिन तथा वाल निर्माण कार्यलाई तीव्रता दिएको हो ।
हर्रेदेखि छिन्चुसम्मको करिब पाँच किलोमिटर सडकको रिसीलिङ्ग कार्य सम्पन्न भएको छ । तीन करोड लागतमा सडक रिसीलिङ्ग निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय सुर्खेतका इन्जिनियर धुव्रकुमार शाहले जानकारी दिए । उनका अनुसार यो रकमबाट छिन्चु–जाजरकोट सडक खण्ड निर्माणमा समेत खर्च भएको छ ।
सडक विभागले पाँच वर्षपहिले कालोपत्रे गरेका सडकहरूलाई निर्धारित समयमा पिच गर्न एआरएम गरेअनुसार नै काम भएको इन्जिनियर शाहले बताए । हर्रेदेखि तोलिखोलासम्मको सडक निर्माण कार्यको जिम्मा आशिष निर्माण सेवाले लिएको थियो ।
१० किलोमिटर सडकको दुवैतर्फको साढे पाँच मिटर कालोपत्रेसमेत गरिएको छ । असार मसान्तसम्म सक्नुपर्ने सडक निर्माणको कार्य हर्रे–छिन्चुको समय अगावै सकिए पनि हर्रे–हात्तीसारको निर्माण कार्य अझै जारी छ । डिभिजन सडक कार्यालय बाँकेले ६ वटा ठेक्कामार्फत निर्माण कार्यलाई तीव्रता दिएको जनाएको छ ।
हात्तीसार–देउरालीसम्मको रिसीलिङ्ग र सडक किनारामा पिच निर्माण कार्य सम्पन्न भएको डिभिजन सडक कार्यालय बाँकेका इन्जिनियर शंकर पौडेलको भनाइ छ । उनले देउराली र हर्रेनजिकै अझै निर्माण कार्य जारी रहेकाले समयमै काम सम्पन्न हुने बताए । बाँकी दुईवटा ठेक्का ढिला सम्झौता भएको छ, इन्जिनियर पौडेलले भने, ‘बजेट ढिला आएकाले एक महिनाअघि मात्र ठेक्का आह्वान गर्दा काम सुरु हुन सकिरहेको छैन ।’
वर्षाको समयमा पहिरो झरेर बेलाबेलामा सडक अवरुद्ध हुने देउरालीनजिकैको वाल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पानी परेको समय माथिबाट आउने पहिरोले सवारी आवागनमा अवरोध हुँदै आएको छ । सडक कार्यालयले दीर्घकालीन रूपमा माथिबाट झर्ने पहिरोलाई रोक्न मजबुत वाल निर्माण भइरहेको जनाएको छ ।
सवारी आवागन अवरुद्ध नहोस् भन्ने उद्देश्यले वाल निर्माण गरिरहेको डिभिजन सडक कार्यालय बाँकेका प्रमुख राजेश यादवले जानकारी दिए । प्रत्येक वर्ष वर्षाको समयमा निकै सास्ती हुने त्यो क्षेत्रलाई प्राथमिकता दिएर काम थालिएको प्रमुख यादवले बताए ।
सडक कार्यालयले जति प्राथमिकता दिएर काम गरे पनि वर्षाका बेला सास्ती यथावत् रहने सवारीचालकले बताएका छन् । सुक्खा मौसममा निर्माण हुन्छ तर लगातार पाँच घण्टा पानी परेमा सडक पहिरोले अवरुद्ध हुने कार्य वर्षौदेखि हुँदै आएको चालक कपिल थापाले बताए । उनले वर्षेनी करोडौँ रकम खर्चंदासमेत सडकको अवस्था वर्षातमा उस्तै हुने दुखेसो पोखे । सडक निर्माणमा दीर्घकालीन योजना बनाएर काम गरे मात्र सडक अवरोध नहुने उनको तर्क छ ।

प्रतिक्रिया