काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी दुइटा आयोगका लागि पदाधिकारी सिफारिस गर्न गठित सर्च कमिटीले नाम सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको कमिटीको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पूर्वमुख्यसचिव लीलादेवी गड्तौलाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
स्रोतका अनुसार थापा र गड्तौलासहित ८ सदस्यको नाम पनि सिफारिस गर्ने निर्णय सर्च कमिटीको छ । यसअघि आयोगको पदाधिकारीका लागि मागेको निवेदनमा १११ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ३४ जना सर्ट लिस्टमा परेका थिए । ती मध्येबाट १० जना आयोग पदाधिकारी सिफारिस भएका हुन् । सर्च कमिटीले पहिलो चरणमा ८ जना अध्यक्षको सर्ट लिस्ट तयार पारेको थियो । जसमा अग्निप्रसाद थपलिया, अच्युतप्रसाद भण्डारी, डिल्लीराज आचार्य, महेश थापा, लीलादेवी गड्तौला, विजयसिंह सिँजापति, विश्वराज कोइराला र शेरबहादुर केसी थिए । तर, अन्तमा थापा र गड्तौला छानिएका हुन् ।
सर्च समिटिका एक सदस्यले छनोटमा परेकाहरूको लिस्ट तयार भएको र ती नामहरू मन्त्रालयमा बुझाउने निर्णय भए पनि नाम सार्वजनिक गर्न नमिल्ने बताए । सरकारले गत चैत ११ गते पूर्वप्रधानन्यायाधीश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो ।
प्रतिक्रिया