प्युठान, ११ असार । जिल्लाका चार गाविसमा १ सय २० जना नयाँ उद्यमी सिर्जना गरिने भएको छ । घरेलु तथा साना उद्योग विकास समिति, लघु उद्यम विकास कार्यक्रमको सहयोगमा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत नयाँ उद्यमी सिर्जना गर्न लागिएको हो ।
बांगेमरोट, पकला, नारिकोट र धुवाङ गाविसमा यसै आर्थिक वर्षभित्र नयाँ उद्यमी सिर्जना हुने ग्रामीण आर्थिक विकास मञ्च(रेकोडेफ) प्युठानका कार्यक्रम संयोजक रञ्जना श्रेष्ठले बताइन् । संस्थासँग भएको सम्झौता अनुसार यसै आर्थिक वर्षभित्र कार्यक्रम सम्पन्न गर्नका लागि २२ लाख १६ हजार ६ सय ४२ रुपैयाँ बजेट छुट्याइएको छ ।
‘काम गर्ने इच्छा शक्ति भएका तर सीपको अभावमा व्यवसाय सञ्चालन गर्न नसक्नेलाई उद्यमशीलता सीप विकास तालिम दिन्छौँ ’, उनले भनिन्, ‘उद्यमीहरूलाई दीर्घकालीन व्यावसायिक योजनासहितको ‘प्याकेज’मा तालिम प्रदान गर्छां ।’
चार गाविसमा १२ वटा लघुउद्यमी समूह गठन गरिने उनको भनाइ छ । कार्यक्रम लागू भएका गाविसमा मेडेफ मोडल अनुसार सामाजिक परिचालन, उद्यमशिलता विकास, सीप विकास तालिम र समूह गठन लगायतको काम गरिने उनले जानकारी दिए ।
उद्यमीका लागि सातदेखि पन्ध्र दिन अवधिको तालिम सञ्चालन गरिने संस्थाका अध्यक्ष इन्द्रमणि पोख्रेलले जानकारी गराए । स्थानीय स्तरमा उपलव्ध स्रोत साधनलाई परिचालन गरी लघु तथा घरेलु उद्योगमार्पmत गरिबी निवारण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
उद्यमीलाई व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने प्रविधि ६० प्रतिशत छुटमा उपलव्ध गराउने व्यवस्था रहेको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय प्युठानका लेखापाल गोपाल पोख्रेलले जानकारी दिए । कार्यक्रम सञ्चालनका लागि बर्सेनि सेवाप्रदायक संस्था छनोट गर्न समस्या भएकाले ‘बहुवर्षीय संस्था छनोट नीति’ अबलम्वन गर्न मन्त्रालयलाई उनले सुझाव दिए ।
प्युठानसहित ५५ जिल्लामा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै उनले ०७७ सम्म देशभर कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको बताए ।
प्रतिक्रिया