पेरिस, ९ असार । चुहिएर सार्वजनिक भएका दस्तावेजमा वासिङटनले फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलोँ तथा उनीअगाडिका दुई राष्ट्रपतिमाथि गुप्तचरी गरेको सङ्केत दिएपछि पेरिसले बुधबार अमेरिकी राजदूतलाई बोलाई आफ्नो सुरक्षालाई चुनौती दिने कुनै पनि कार्यलाई सहन नसकिने बताएको छ ।
अघिल्लो रात विकिलिक्सले ती दस्तावेज सार्वजनिक गरेपछि राष्ट्रपति अलोँले प्रमुख गुप्तचर अधिकारी तथा मन्त्रीहरूसँग बैठक गरेका थिए ।
फ्रान्सेली राष्ट्रपतिको कार्यालयले यस्ता कुरा सार्वजनिक हुनु अस्व्ीकार्य भएको उल्लेख गरेको छ । कूटनीतिक स्रोतहरूले अमेरिकी राजदूत जेन हार्टलीलाई फ्रान्सेली विदेशमन्त्री लरन्ट फावियसले बुधबार भेट गर्न बोलाउनुभएको जानकारी दिएका छन् ।
ती कागजात उच्च रूपमा गोप्य भनिएका छन् र त्यसमा पूर्व राष्ट्रपति ज्याक सिराक तथा निकोलस सारकोजीमाथि गुप्तचरी गरिएको देखिएको छ । यी कागजात विकिलिक्सले फ्रान्सेली समाचारपत्र लिबरेसन तथा मेडियापार्टको साझेदारीमा वेबसाइटमा राखिदिएको हो ।
अमेरिकी राष्ट्रपति बराक ओबामाले सरकारले ठूलो मात्रामा टेलिफोन सञ्जालका तथ्याङ्क प्राप्त गर्ने कार्य अन्त्य गर्ने ऐतिहासिक कानुनलाई समर्थन गर्नुभएको केही सातापछि यी कागजात सार्वजनिक भएका हुन् । यो कार्यक्रम ९÷११ पछि सबैभन्दा विवादास्पद गुप्तचरी कार्यक्रम बनेको थियो ।
ह्वाइट हाउसले आफ्नो विगतका क्रियाकलापमा टिप्पणी गरेको छैन । उसले फ्रान्सेली राष्ट्रपति अलोँको सञ्चारलाई लक्ष्य नबनाइएको र भविष्यमा पनि नबनाइने उल्लेख गरेको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता नेद प्राइसले मङ्गलबार फ्रान्ससँग अमेरिकी साझेदारी पन्छाउन नसकिने भएको बताउँदै आफूहरूले फ्रान्सेली राष्ट्रपतिको दूरसञ्चारलाई लक्ष्य नबनाएको र नबनाइने बताए ।
सन् २०१३ मा अमेरिकी राष्ट्रिय सुरक्षा संस्था (एनएसए) ले जर्मन चान्सलर एङ्गेला मर्केलको टेलिफोन टेप गरेको आरोप लागेपछि फ्रान्सेली राष्ट्रपतिको कार्यालयले अमेरिकालाई फ्रान्सेली नेतामाथि गुप्तचरी नगर्न आग्रह गरेको थियो ।
एलिसे प्रासादले जारी गरेको विज्ञप्तिमा अमेरिकी अधिकारीहरूले बचनबद्धता व्यक्त गरेको र त्यसलाई कडाइका साथ पालना गर्नुपर्ने कुरा सम्झनुपर्ने उल्लेख गरिएको छ ।
चुहिएका कागजातमा एनएसएले सन् २०१२ को मे २२ सम्मका दस्तावेज परेका छन् । उक्त मितिमा राष्ट्रपति अलोँले पदभार वहन गरेको केही समय मात्र भएको थियो ।
प्रतिक्रिया