मुम्बई । आफ्नो फिल्म रिलिज होस् भन्ने जोकोहीको चाहना हुन्छ । तर, बलिउडकी अभिनेत्री कंगना रनावत आफ्नै फिल्मलाई प्रदर्शन हुनबाट रोक लगाइरहेकी छन् । लगातार हिट फिल्म दिइरहेकी कंगनाको व्यवहार केही समयदेखि यस्तै देखिइरहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार हालै कंगनाले टिसिरीजलाई एक कानुनी पत्र पठाउँदै आफ्नो पुरानो फिल्म ‘आइ लब न्यू इयर’ लाई प्रदर्शन हुनबाट रोक लगाउन आग्रह गरेकी छन् । निर्माताले उनको रोकिएको यो फिल्म रिलिजमा ध्यान दिएपछि उनले त्यसो नगर्न अनुरोध गरेकी हुन् । ‘कंगनामा फिल्म तुरुन्त रिलिज नहोस् भन्ने चाहना छ,’ कंगनानिकट स्रोतले भन्यो, ‘कंगनाले कानुनी कदम उठाउने मन बनाएकी छन् ।’
कंगनाका वकिल रिजवान सिद्धीकीले आफ्ना क्लाइन्टलाई जानकारी नदिइकन टिसिरीजले फिल्मको रिलिज गर्न दिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । कंगनाले फिल्मबाट पूरा रकम भुक्तान नभएपछि उनले प्रदर्शनमा रोक लगाउने चाहना राखेको वकिलले जनाए ।
टिसिरीजका प्रमुख भूषण कुमारले फिल्मको रिलिजको विषयलाई लिएर आफ्नो केही नियन्त्रण नभएको बताए । उनले १८ महिनाअघि फिल्मको अधिकार वेब सिनेमालाई बेचेका थिए । फिल्ममा कंगनासहित सन्नी देओलको पनि अभिनय रहेको छ । (एजेन्सी)
प्रतिक्रिया